बुटवल - लुम्बिनी प्रदेशका तीन प्रदेश सभा सदस्यले दायर गरेको रिटमा आज सर्वोच्च अदालतमा पेशी तोकिएको छ। जनता समाजवादी पार्टी जसपाले कारवाही गरेपछि उनीहरु प्रदेश सभा सदस्यबाट पदमुक्त भएका थिए। पदमुक्त भएपछि साउन १८ गते सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। रिटमा मंगलबार पेशी तोकिएपनि सुनवाइ हुन सकेको थिएन। आज दोस्रो पटक पेशी तोकिएको हो। तीन जनाकाे रिट न्यायाधीश इश्वर खतिवडाको इजलाशमा सुनुवाइ हुनेछ ।
हालै निर्वाचन आयोगबाट उपेन्द्र यादव पक्षले जसपाको आधिकारिकता पाएको थियो। आधिकारिकता पाएपछि शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारमा मन्त्री समेत भएका तीन जनालाई जसपाले कारवाही गरेको थियो। प्रदेश सभा सचिवालयले कारवाहीको सुचना जारी गरि पदमुक्त भएको जानकारी गराएपछि तीन जना अदालत गरेका थिए।
पदमुक्त भएका तीन सांसदले उत्पे्रषण र अवहेलनाको छुट्टा छुट्दै मुद्दा दर्ता गरेका हुन्। यस अघि उनीहरुले दायर गरेको रिट अदालतमा विचाराधीन छ । मुद्दा विचाराधिन रहेको अवस्थामा फेरी कारवाही गरिएको भन्दै लुम्बिनी प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्ति र प्रदेश सभा सचिवालयलाई विपक्षी बनाइ सर्वोच्चमा रिट दर्ता गरेका हुन्।
गत बैशाख ६ गते मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै उनीहरु मन्त्री बनेका थिए। मन्त्री बनेपछि उपेन्द्र यादव पक्षले कारवाही गरेको थियो। कारवाही गरेपछि पदमुक्त भएका उनीहरुहरु अदालत गएका थिए। अदालतले कारवाहीको सुचना कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो।