बुटवल-केही दिनअघि एमाले प्रवेश गरेको भन्दै विज्ञप्ति निकाल्ने लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री ओली फेरि माओवादी केन्द्रको सम्पर्कमा गएकी छन्।
एक हप्तादेखि पार्टीसँग ‘सम्पर्कविहीन’ भएकी उनी बुधबार बिहान प्रदेशसभा सचिवालयमा रहेको माओवादी संसदीय दलको कार्यालयमा उपस्थित भएकी छिन्। उनले माओवादी दलका नेता कुलप्रसाद केसीसहितका नेताहरु र कांग्रेसका केही नेताहरुसँग समेत छलफल गरेकी थिइन्।
माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष ओनसरी घर्तीले भनिन्-‘अहिले हाम्रा माननीय ज्यूहरुसंग उहाँ सुरक्षित हुनुहुन्छ, उहाँलाई अब कुनै पनि अप्ठ्यारो पर्न दिने छैनौँ।’
उनी माओवादीको सम्पर्कमा आएको विषय गोप्य राख्ने भनिएपनि सूचना चुहिएपछि माओवादी सांसदहरुले भने आफुहरुलाई जानकारी नभएको बताउन थालेका छन्।
केही समयअघि मात्रै सम्पर्कमा आएको र पत्रकार सम्मेलन गर्ने बताएका माओवादी नेता सुदर्शन बरालले केही समयपछि आफुले पनि जानकारी पाएको र पार्टीको सम्पर्कमा आएपछि पत्रकार सम्मेलन गर्ने बताए। उनले लुम्बिनी टाइम्ससँग भने-उहाँ आउनुभयो भन्ने जानकारी मैले पनि पाएको हुँ, उहाँ आउनुभयो भने पत्रकार सम्मेलन हुन्छ।'
माओवादी संसदीय दलका अर्का एक सदस्यका अनुसार उनी आफैं पार्टीको सम्पर्कमा आएकी हुन्। विमलाले आफूलाई मुख्यमन्त्री कार्यालयमै राखिएको नेताहरुसँग बताएको माओवादी संसदीय दलका ती सदस्यले जानकारी दिए। उनले आफ्नो नाम खुलाउन भने तयार भएनन्।
विमलाले केही घण्टा आराम गरेर आज दिउँसो नै पत्रकार सम्मेलन गर्नुपर्छ भन्ने कुरा गरेको उनले बताए। तर, माओवादी सचेतक तुलाराम घर्ती, दामाकुमारी शर्मालगायतका नेताहरु भने उनी सम्पर्कमा आएनआएको खुलाउन चाहन्नन्। तुलाराम घर्तीले लुम्बिनी टाइम्ससँग भने-'यो कुरा मलाई नसोध्नुस्, म अहिले मिटिङमा छु, उहाँ आउनुभयो भएन भनेर कसले भन्यो, किन चाहियो ?'
ओलीले माओवादी नेताहरुसँग प्रदेश सभा सचिवालय परिसरमा छलफल गरेको र आफुहरुसँग भेट भएको कांग्रेस सांसदहरु बताउँछन्। तर उनीहरु यसको पुष्टि माओवादीले गर्ने भन्दै तर्किन्छन्।
कांग्रेसका एक सांसदले भने-'विमलाजी संसदमा आउनुभएको थियो, उहाँसँग हाम्रो पनि भेट भएको हो, आफुलाई मुख्यमन्त्री निवासमा राखेको भन्ने कुरा गर्नुभयो, उहाँले सबै कुरा पत्रकार सम्मेलनमा गर्छु भन्ने कुरा पनि गर्नुभएको थियो, त्यसपछि माओवादी नेताहरुले के के भन्नुभयो, त्यो कुरा उहाँहरुले जान्ने हो।'
यता, नेकपा एमालेले पनि आफुहरुले त्यस्तो खबर सुनेको तर विश्वस्त नभएको बताउँछ। एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले आफुले पनि त्यस्तो सुनेको बताए। 'मैले पनि उहाँ माओवादीमा जानुभयो रे भन्ने सुनेको छु, तर कन्फर्म छैन है।'