बुटवल - लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले भुमी आयोगलाई पुनस्थापित गर्नको लागि जनदवाब सिर्जना गर्न आग्रह गरेका छन्। उनले आयोगको विघटन भूमिहिन तथा अव्यवस्थीत बसोबासीको आशा र अपेक्षा माथिको घात भएको उल्लेख गरेका छन् । 'आयोगको विघटन भूमिहिन दलित, सुकुम्वासी र अव्यवस्थित वसोवासीको आशा र अपेक्षामाथिको घात हो । यस प्रकारको जनविरोधी कार्यको सबैले विरोध गरौ । आयोगलाई पुनस्थापित गर्नका लागि जनदवाव सिर्जना गरौ।' सामाजिक सञ्जाल फेसबुकमा पोखरेलले लेखेका छन्।
पोखरेले आयोगको विघटन गर्नु बर्तमान सरकारको ठूलो भुल भएको बताएका छन् । 'अव्यवस्थित वसोवासको समस्या नेपालको तराई क्षेत्रको विकराल समस्या हो । यसको समाधान राज्यको सामर्थ्यवृद्धिसंग पनि गासिएको विषय हो ।' उनले भने 'कानुनतः गठन भएको र लक्षित समुदायको पहिचान र जग्गाको उपलव्धता जस्ता आधारभूत कार्यादेश स्थानियतहलाई प्रदान गरिएको अवस्थामा राजनीतिक पूर्वाग्रहका आधारमा आयोगनै विघटन गर्नु सरकारको निकै ठुलो भुल हो।'
विगतमा कानुको अभावमा समस्याको समाधानमा व्यवधान सिर्जना हुदै आएको भन्दै यसपटक सरकारले संसदवाट कानुन वनाएर भूमि आयोग गठन गरेको पोखरेलको भनाइ छ ।