बुटवल - लुम्बिनी सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले विपक्षी गठबन्धनले ल्याएको अविश्वासको प्रस्ताव अबैधानिक भएको बताएका छन्। एक पटक सरकार गठन भएपछि २ वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाइने व्यवस्था संविधानमै भएकाले अबैधानिक भएको उनको भनाइ छ। ‘संविधानको धारा १८८ को ४ मा नयाँ सरकार गठन भएपछि २ वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन पाइने छैन भनेर भनेको छ ।’ लुम्बिनी टाइम्ससँग उनले भने ‘बैशाख १९ गते मुख्यमन्त्रीले राजिनामा दिएर नयाँ सरकार गठन गरेपछि त्यो धारा त आकर्षित भयो नि ।’
जसपाका ३ सांसदको मुद्दा अदालतमा टुंगो नलागेका कारण पनि अविश्वासको प्रस्ताव ल्याउन नमिल्ने मन्त्री चौधरीको भनाइ छ । ‘अहिले अदालतमा मुद्दा भएको बेलामा सख्या कति मान्ने ८३ मान्ने कि ८० मान्ने ।’ उनले भने ‘सभामुखले ३ जनाको पद खाइदिए। ऋदालतले ३ जनालाई बहाली गरिदिएपछि ८३ हुन्छ। सभामुखलाई मानेर मात्र हुन्छ कि सर्वोच्च अदालतलाई पनि मान्नुपर्ने।’ यस्तो भयो भने कानूनी जटिलतामा फँसिने चौधरीको भनाइ छ ।
मन्त्री चौधरीले पेलेरै अविश्वासको प्रस्ताव आएमा सत्ता पक्षले सामना गर्ने बताए । विपक्षीहरुले समावेदन दिएका छन्। ‘प्रदेश प्रमुखको रवैया कस्तो हुन्छ उहाँ कसरी अघि बढ्नु हुन्छ । त्यस अनुसार हामी सामना गर्न तयार छौं।’ उनले भने ।