बुटवल-२०५६ सालसम्म आउँदा लगातार तिनवटा चुनाव जितेर हयाट्रिक गर्ने सांसद औंलामा गन्न सकिने जति थिए । दलका शिर्ष नेता र केही प्रभावशाली नेता त्यस कोटीमा पर्दथे । तर नेपाली कांग्रेसको जिल्ला तहको नेता भएर पनि दुर्योधनसिंह चौधरीले रुपन्देही क्षेत्र नम्बर १ बाट २०४८, २०५१ र २०५६ चुनाब मार्फत लगातार जनताको मन जितिरहे ।
प्रजातन्त्र पुन:स्थापना पछिको पहिलो आम चुनावमा २०४८ मा उनका प्रतिस्पर्धी थिए तत्कालीन नेकपा एमालेका भीमनारायण थारु । एमालेको चुनाबी भाषण, कुराकानीमा एउटा चर्चा हुने गर्दथ्यो–रुपन्देही १ को चुनाव महाभारतका पाण्डव र कौरवबीचको लडाई हो, पाण्डवको पक्षबाट भीम र कौरबको पक्षबाट दुर्योधन लड्दैछन्, आखिर जित त पाण्डव पक्षका भिमकै हुन्छ । तर चुनाव महाभारतको लडाइ जस्तो रहेन । दुर्योधनले भीमलाई पराजित गरे ।
२०५१ सालमा भएको मध्यवती चुनावी मैदानमा दुर्योधनको भेट घनश्याम भुसालसँग भयो । विद्यार्थी राजनीतिबाट खारिएर आएका प्रखरवक्ता, दमदार भाषण गर्ने घनश्यामसँगको लडाइलाई दुर्योधनको लागि चुनौतीको रुपमा हेरिएको थियो ।
चुनाबी मैदानमा राप्रका दिपक बोहोरा पनि शसक्त ढंगले उत्रिएका थिए । देशभर ८८ सिट सहित नेकपा एमाले २०५१ सालमा संसदको पहिलो दल बनेको थियो । रुपन्देहीमा कांग्रेसले बाँकी चारवटै क्षेत्रमा पराजय भोग्यो । तर क्षेत्र नम्बर १ मा भने दुर्योधनले नेपाली कांग्रेसको दबदबालाई कायमै राखे । २०५२ सालमा शेरवहादुर देउवा प्रधानमन्त्री हुँदा उनी महिला तथा समाजकल्याण राज्य मन्त्री बने ।
२०५६ सालको आम निर्वाचनमा फेरि दुर्योधनसिंह चौधरीले पूर्वी रुपन्देहीमा बाजी मारे । लगातार चुनाव मात्र जितेनन् मतान्तर पनि बढाउँदै लगे । पहिलो चुनावमा ५ सय २५ मतान्तरले विजयी भएका थिए । ०५१ सालमा झण्डै १५ सय मतले जिते । ०५६ सालसम्म आउँदा त उनले निकटतम प्रतिस्पर्धीसँगको मतान्तर साढे ४ हजार पुर्याइसकेका थिए ।
सरल स्वभाव, कसैसँग झगडा नगर्ने, जनताको घर दैलोमा लगातार पुगिरहने स्वभावका कारण दुर्योधनले पूर्वी रुपन्देहीका जनताको मन जितेको कांग्रेस रुपन्देही १ का पूर्व क्षेत्रीय सभापति विश्वनाथ यादव बताउँछन् । ‘कसैसँग झगडा नगर्ने, कोही रिसाएर गाली गरेपनि त्यसको जवाफ नदिने उहाँको स्वाभाव थियो–उनले भने ‘चुनावको बेलामा कोही रिसायो भने उसकै घरमा गएर राती बास बस्नुहुन्थ्यो । जनताको घर गइरहने उनीहरुकोमा खाना खाने गर्नुहुन्थ्यो ।’
तिनवटै चुनावमा दुर्योधनले निर्विवाद टिकट पाएका थिए । उनमा सबैलाई मिलाएर लैजाने खुबी भएको पूर्व क्षेत्रीय सभापति यादव सम्झन्छन् । ‘यो क्षेत्रमा थारुहरुको बाक्लो बस्ती छ । उहाँले थारु र यादवहरुलाई समेटेर अघि बढ्नुहुन्थ्यो ।’ उनले भने–‘एमालेसँगको कडा प्रतिस्पर्धा र दिपक बोहोराको खर्चालु चुनाबको बाबजुत पनि उहाँले जित्नुभयो ।’
२०६४ सालको संविधान सभाको चुनावसम्म आइपुग्दा उमेद्वार बन्न इच्छा राख्ने धेरै भए । दुर्योधनसँगै, जिल्ला सभापति अब्दुल रज्जाक, क्षेत्रीय सभापति विश्वनाथ यादब टिकटको सूचीमा थिए । अन्तत अब्दुल रज्जाकले टिकट पाए । लगातार ३ पटक जित्दै आएको त्यो ठाउँ नेपाली कांग्रेसले गुमायो । दुर्योधनले टिकट पाएको भए ०६४ मा कांग्रेसले नै जित्ने त्यसबेला कतिपय नेताहरुले दाबी गर्दथे । २०७० सालको चुनावमा भने अब्दुल रज्जाक विजयी भएका थिए । सांसद नहुँदा पनि दुर्योधनसिंह चौधरी निरन्तर जसो आफ्ना कार्यकर्ताको घरमा जाने बस्ने गरिरहन्थे ।
दुर्योधन सिंहको राजनीतिक यात्रा भारतको गोरखपुरबाट सुरु भएको हो । २०२१ सालतिर उनी पढ्नको लागि गोरखपुर गएका थिए । त्यही आफ्नै जिल्लाका यावदनाथ आलोक (जो सुरजपुरा काण्डमा मारिए) सँग भेट भयो । आलोकले उनलाई राजनीतिमा आउन प्रेरित गरे । दुर्योधनको निलाम्बर पन्थीसँग भेट भयो । २०१५ सालका सांसद भएका निलाम्बरलाई दुर्योधनले राजनीतिक गुरु मान्ने गर्दथे ।
निलाम्बर पन्थीसँग उनी विपीलाई भेट्न वनारसको सारनाथ पुगे । विपीसहित गिरिजाप्रसाद कोइराला, शैलजा आचार्य, प्रदीप गिरीलगायतसँग पनि उनको भेट भयो । बनारसबाट नेपाली कांग्रेसको मुखपत्र तरुण पत्रिका प्रकाशन हुन्थ्यो ।
ती पत्रिकाहरु नेपाल ल्याउने जिम्मेवारी दुर्योधन सहितको समुहमा आयो । हरिहर विरही, प्रदीप गिरी, शैलजा आचार्य, होमनाथ दाहाल पत्रिका प्रकाशनमा सहभागी थिए । बनारसबाट पत्रिकाहरु गोरखपुरसम्म ल्याइन्थ्यो । गोरखपुरमा नेपालको कुन कुन ठाउँमा पत्रिका पु¥याउने हो त्यस अनुसार भाग लगाइन्थ्यो । पश्चिमाञ्चल क्षेत्र दुर्योधनको भागमा पर्दथ्यो । मुख्य नाकाबाट नआइ कहिले बेलहिया पूर्व र कहिले भगवानपुर भएर उनले तरुण पत्रिका भित्राउथे । रुपन्देहीमा आफ्नो र डिल्लीरमण शर्माको घरमा ल्याएर राख्थे । विभिन्न ठाउँका कार्यकर्ता आएर पत्रिका लिएर जान्थे ।
तरुण पत्रिका मात्र होइन दुर्योधनले बम पनि नेपाल भित्राएर विष्फोट गराएका छन् । २०२६ सालतिर गिरिजाप्रसाद कोइरालाले उनलाई बम दिएर पठाएका थिए । भगवानपुर नाकाबाट उनले बम बोकेर भैरहवा आए । जिल्ला प्रहरी कार्यालय नजिक विष्फोट गराए । बम पड्किएपछि भैरहवामा भागाभाग भयो ।
हातले बम फालेर उनी त्यहाँबाट भागे । केही पर गएर लगाएको लुंगी समेत फालेर कट्टु र गन्जीमा राती घर पुगे । बम विष्फोटबाट भैरहवामा जनधनको क्षति भएन । प्रहरी कार्यालय नजिकको रुख भने चर्किएको थियो । कान नसुन्ने पञ्चायती सरकारलाई झस्काउन आफूले बम फालेको उनले सुनाउने गरेका थिए ।
द्वन्द्वकालमा उनकै घरमा माओवादीले बम विष्फोट गराएको थियो । शान्तिप्रक्रियामा आइसकेपछि माओवादी कार्यकर्ताले दुर्योधनसिंहलाई भन्ने गर्दथे–‘कुनै जमानामा तपाईले पनि बम फाल्नुभएको थियो । पछि तपाईको घरमा फाले ।’
दुर्योधनले भन्थे–‘तपाईहरुले त व्यक्तिको घरमा फाल्नुभयो मैले व्यक्तिको घरमा बम फालेको थिइन, सरकारको कान गुन्जाउन मात्र फालेको हुँ ।’
भारतबाट फर्केर दुर्योधनले शिक्षण पेशा सुरु गरे । खाली बस्न भन्दा केही पेशा गर्ने भन्दै उनले २०३२ सालमा नवलपरासी जिल्लामा पुगेर शिक्षण पेशा थाले । लामो समय नवलपरासीमा रहेर विभिन्न विद्यालयमा पढाए । प्रदेश ५ का अहिलेका मन्त्री वैजनाथ चौधरी र पूर्व सांसद विक्रम खनाल दुर्योधनले पढाएका विद्यार्थी हुन् । पछि उनी रुपन्देहीको ठूटेपिपल आए । उनी नेपाल शिक्षक संघको संस्थापक सदस्य तथा रुपन्देहीको संस्थापक जिल्ला अध्यक्ष पनि हुन् ।
२०४८ सालको चुनावमा रुपन्देही १ बाट टिकट पाउने भएपछि दुर्योधनले सेवा अवधि नसकिदै शिक्षण पेशाबाट राजीनामा दिए । चुनावी प्रतिस्पर्धासँगै पुनः सक्रिय राजनीति सुरु गरेका थिए । ३ वटा चुनाव जितेर ह्याट्रिक गरेका दुर्योधनसिंह चौधरी केही वर्ष यता भने ओझेलमा थिए । चौधरीको गत बिहीबार निधन भयो । उनको निधनसँगै कांग्रेसले एउटा इमान्दार र सरल स्वभावको नेता गुमाएको छ ।