बुटवल-१९ वैशाखमा माओवादी रोजेको घोषणा गरेकी लुम्बिनी प्रदेशकी सांसद विमला कुमारी ओली खत्रीले एमालेमा रहेको भन्दै विज्ञप्ति निकालेकी छिन्।
केहीदिनयता माओवादी केन्द्रको संसदीय दलको बैठकमा सहभागी हुन खबर गर्नखोज्दा उनी सम्पर्कमा नआएको माओवादी केन्द्रले जनाएको थियो। पत्रकारहरुको फोन नउठाएकी उनी नेपालगञ्जमा रहेको खबर प्रहरीमार्फत सार्वजनिक भएको थियो।
उनले आफु केही अस्वस्थ भएको जनाउँदै निकालेको विज्ञप्तिमा आफ्ना दिवंगत श्रीमानको भूमिका र योगदानको कदर गर्दै फेरि एमाले रोज्ने निर्णय गरेको खुलाएकी छिन्।
विज्ञप्तिमा उनले भनेकी छिन्-मैले सूर्य चिन्हबाट चुनाब जितेको र अहिले सूर्य चिन्ह एमालेको रहेकाले एमाले छाडेर माओवादी रोज्ने कुरा पनि कानुनी रुपमा ठीक नभएकाले एमालेमै रहेको स्पष्ट पार्दछु ।'
ओलीले भनेकी छिन्, ‘मैले सूर्य चिह्नबाट चुनाव जितेको र अहिले सूर्य चिह्न एमालेको रहेकाले एमाले छाडेर माओवादी रोज्ने कुरा पनि कानुनी रूपमा ठीक नभएकाले एमालेमै रहेको स्पष्ट पार्दछु ।’
उनले एमाले र माओवादी केन्द्र एकता भएपछि नेकपाको चुनाव चिह्न सूर्यबाट चुनाव उठेको र पार्टी विभाजनपछि एमाले संसदीय दलको बैठकमा उपस्थित भएको पनि बताएकी छिन् ।
‘पार्टी विभाजनपछि म नेकपा एमाले संसदीय दलको बैठकमा उपस्थित भएको र पार्टीको दाङ जिल्ला कमिटी सदस्यको हैसियतले समेत बैठकमा सहभागी भएकाले कुनै भ्रममा नपर्न सबैमा आग्रह गर्दछु,’ उनले भनेकी छिन् ।
उनले आफू एमालेप्रति प्रतिबद्ध रहेको र एमाले प्रदेशसभा संसदीय दलको सदस्य रहेको पनि स्पष्ट पारेकी छिन् । ‘म निर्वाचित भएर प्रदेशसभामा क्रियाशील हुँदै गर्दा पार्टीप्रति मेरा केही गुनासा थिए । एउटा पार्टी कार्यकर्ताको नाताले पार्टीप्रति मेरा र पार्टीको मप्रति गुनासो हुनु स्वभाविकै थियो । ती गुनासा र अविश्वासलाई विश्वासमा बदल्दै म एमालेप्रति प्रतिबद्ध रहेको र एमाले प्रदेशसभा संसदीय दलको सदस्य रहेको स्पष्ट पार्न चाहन्छु,’ उनले भनेकी छिन् ।
यसअघि १९ वैशाखमा उनले माओवादी रोजेको बताएकी थिइन्। उनले विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने समयमा हस्ताक्षर गरेकी थिइन्।
र, उनले त्यसैबेला पत्रकार सम्मेलन गर्दै वलीले आफूलाई कसैले माओवादीमा लाग्न दबाब नदिएको र आफूले राजीखुसी पार्टी छानेको बताएकी थिइन्। 'निर्वाचनका बेला मैले माओवादीबाट सपोर्ट पाएको थिएँ। कसैले मलाई आउनुपर्छ भनेकाले होइन, मैले आफ्नै खुसीले यो दल रोजेकी हुँ,' उनले त्यसबेला भनेकी थिइन्।
२५ जेठको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गरेपछि एमालेले उनलाई स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणको जवाफ दिँदै उनले दल रोज्न पाउने अधिकारबमोजिम माओवादी केन्द्र रोजेको बताएकी थिइन् ।
विमलाका श्रीमान् उत्तरकुमार ओली २०७४ सालमा एमालेबाट निर्वाचित भएका थिए। उनको सवारी दुर्घटनामा मृत्यु भएपछि विमला प्रदेश सभा सदस्यमा निर्वाचित भएकी थिइन्। नेकपा एकतापछि भएको उपनिर्वाचनमा उनी सूर्य चिन्हबाट चुनाब लडेर जितेकी थिइन्। त्यसपछि नेकपा विभाजनपछि एमाले र माओवादी रोज्न पाउने अधिकारबमोजिम उनले माओवादी रोजेको बताएकी थिइन्।
उपनिर्वाचनमा आफूले माओवादी नेताहरूबाट नै बढी समर्थन र सहयोग पाएकाले सोही पार्टीमा लाग्ने निर्णय आफूले गरेको विमलाको भनाइ थियो। ओली दाङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र ३ को प्रदेश सभा निर्वाचन क्षेत्र (ख) मा भएको उपचुनावमा नेकपाबाट निर्वाचित भएकी थिइन्।