बुटवल-केहीदिनयता सम्पर्कविहिन भनिएकी लुम्बिनी प्रदेश सांसद विमला कुमारी ओली खत्रीले आफु एमालेमा रहेको भन्दै विज्ञप्ति निकालेकी छिन्।
उनले निकालेको विज्ञप्तिमा उनले भनेकी छिन्-मैले सूर्य चिन्हबाट चुनाब जितेको र अहिले सूर्य चिन्ह एमालेको रहेकाले एमाले छाडेर माओवादी रोज्ने कुरा पनि कानुनी रुपमा ठीक नभएकाले एमालेमै रहेको स्पष्ट पार्दछु ।'
यसअघि १९ वैशाखमा उनले माओवादी रोजेको बताएकी थिइन्। उनले विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने समयमा हस्ताक्षर गरेकी थिइन्।
र उनले त्यसैबेला पत्रकार सम्मेलन गर्दै वलीले आफूलाई कसैले माओवादीमा लाग्न दबाब नदिएको र आफूले राजीखुसी पार्टी छानेको बताएकी थिइन्। 'निर्वाचनका बेला मैले माओवादीबाट सपोर्ट पाएको थिएँ। कसैले मलाई आउनुपर्छ भनेकाले होइन, मैले आफ्नै खुसीले यो दल रोजेकी हुँ,' उनले त्यसबेला भनेकी थिइन्।
विमलाका श्रीमान् उत्तरकुमार ओली भने २०७४ सालमा एमालेबाट निर्वाचित भएका थिए। उनको सवारी दुर्घटनामा मृत्यु भएपछि विमला प्रदेश सभा सदस्यमा निर्वाचित भएकी थिइन्।
उपनिर्वाचनमा आफूले माओवादी नेताहरूबाट नै बढी समर्थन र सहयोग पाएकाले सोही पार्टीमा लाग्ने निर्णय आफूले गरेको विमलाको भनाइ थियो। ओली दाङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र ३ को प्रदेश सभा निर्वाचन क्षेत्र (ख) मा भएको उपचुनावमा नेकपाबाट निर्वाचित भएकी थिइन्।