बुटवल -लुम्बिनीका विपक्षी दलका सांसदहरुले प्रदेश प्रमुख अमिक शेरचनलाई भेटेर १६८ को २ का लागि सरकार गठनको आह्वान गर्न माग गरेका छन् । उनीहरुले मुख्यमन्त्री नेतृत्वको बर्तमान सरकार संविधानको धारा १६८ १ बमोजिम गठन भए पनि सरकार संयुक्त रहेको र त्यो अवैधानिक र अल्पमतमा परेकाले २ बमोजिम सरकार गठन गर्न माग गरेका हुन्।
कांग्रेस, माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाका सांसदले संविधान, मूल्यमान्यता, विधिअनुसार सरकार गठन नभएकाले लुम्बिनी प्रदेशमा २ अनुसारको सरकार गठनका लागि प्रक्रिया अघि बढाउनुपर्ने बताएका हुन्।
कांग्रेसका संसदीय दलका नेता विरेन्द्रप्रसाद कानोडियाले ज्ञापनपत्र बुझाउँदै प्रदेश सभामा कुनै पनि दलको बहुमत नरहेकाले २ बमोजिमको सरकार गठन माग गरेका थिए।
निवेदनमा भनिएको छ, ‘लुम्बिनी प्रदेशसभामा तत्काल कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थाको विद्यमानता भएकोले संविधानको धारा १६८ को १ बमोजिम नियुक्त मा मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकार नियुक्तिको धारा अनुसारको संवैधानिक हैसियतमा नरहेको अवस्थाको विद्यमानतामा नेपालको संविधानको धारा १६८ को २ बमोजिमको सरकार गठनको लागि आह्वान गरी पाउन माननीय प्रदेश प्रमुखज्यु समक्ष सादर निवेदन गर्दछौं ।’
विपक्षी गठबन्धनले लामो समयदेखि मुख्यमन्त्री शंकर पोखरेललाई विश्वासको मत लिएर देखाउन चुनौती दिँदै आएको थियो । तर मुख्यमन्त्री पोखरेलले विभिन्न बहाना देखाएर विश्वासको मत लिन आनाकानी गर्दै आएपछि विपक्षी गठबन्धनले प्रदेश प्रमुखलाई गुहारेको हो ।