बुटवल- लुम्बिनीका विपक्षी दलले प्रदेश प्रमुख अमिक शेरचनसँग भेट गर्दैछन्। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले प्रदेश प्रमुखलाई भेट्न लागेका हुन्। भेटमा उनीहरुले मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारलाई संविधानको धारा १ सय ६८ को १ अनुसार नभई २ अनुसार भएको स्पष्ट पार्न आग्रह गर्ने कांग्रेस सांसद डिल्ली चौधरीले जानकारी दिए।
सरकारमा जनता समाजवादी पार्टीको एकपक्ष पनि रहेकाले विश्वासको मत दिनुपर्ने विपक्षीले माग गर्दै आएका छन्। १६८ को २ अनुसारको सरकार गठन भएको ३० दिन भित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।
यस अघि २ पटक विपक्षी दलले प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । तर प्रदेश सभामा छलफल हुन पाएको थिएन। गत बैशाख ६ गते दर्ता भएको अविश्वासको प्रस्तावको लागि १९ गते बैठक बोलाइएको थियो । तर सोही दिन मुख्यमन्त्री शंकर पोखरेलले राजिनामा दिएर बहुमतको सरकारको दाबी गरेका थिए।
प्रदेश सभाको अधिवेसन पनि अन्त्य गराएका थिए । तत्कालिन प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका थिए। त्यस यता अल्पमतको पक्षलाई मुख्यमन्त्री बनाएको भन्दै विपक्षी गठबन्धनले विरोध गर्दै आएका छन्। दोस्रो पटक अविश्वासको प्रस्ताव पेश गर्दा प्रदेशप्रमुखले विशेष अधिवेसन बोलाउने इन्कार गरेका थिए ।
केन्द्रमा कांग्रेस नेतृत्वको सरकार र सोही सरकारले नियुक्त गरेका नयाँ प्रदेश प्रमुख आएपछि लुम्बिनीका विपक्षी दलले फेरी अविश्वासको प्रस्ताव ल्याउन लागेका हुन्। उनीहरुले पोखरेलले विश्वासको मत नलिए अविश्वासको प्रस्ताव ल्याउने बताएका छन्।