बुटवल । प्रदेश ५ का सभामुख पूर्ण बहादुर घर्तीले प्रदेश राजधानीको विषय राजनीतिक विषय भएका कारण त्यसको टुङगो पनि राजनीतिक रुपमा लाग्ने बताएका छन् ।
प्राविधिक रुपमा अध्ययन गर्नका लागि विज्ञहरुसमेत नियुक्त गरेर काम गरिरहेको अवस्थामा सभामुख घर्तीले प्रदेश राजधानी टुंगो लगाउने विषय प्राविधिक विषय नभई राजनीतिक विषय भएको बताएका हुन् ।
राजधानीको विषय पेचीलो बनेको बताउदै उनले यसलाई प्राविधिक विषय जसरी समाधान गर्नु पर्छ भन्ने मनोविज्ञान बनाउन नहुने जिकिर गरे । शनिवार रोटरी क्लब अफ बुटवलको नियमित १२८१ औं बैठकमा मुख्य बक्ताका रुपमा बोल्दै सभामुख घर्तीले सो कुरा बताएका थिए ।
संघियताको कार्यान्वयन भनेको केन्द्रीकृत मानसिकताका अन्त्य र विकेन्द्रीत अधिकार र अवसरको सिर्जना भएको उल्लेख गर्दै सभामुख घर्तीले भने-'सिंहदरवारले हामीलाई दिन नसकेको अपनत्व फेरी हामीले तोक्ने राजधानीले दिन नसक्ने हो भने राजनीतिक परिवर्तनको कुनै औचित्य हुँदैन ।'
राजधानीका विषयमा बाहिर आउने गरेका कुरा र बहसप्रति असन्तुष्टि व्यक्त गर्दै उनले राजधानी कहाँ बनाउने भनेर होइन कस्तो बनाउने भन्नेमा केन्द्रीत हुनु पर्ने सुझाव दिए । घर्तीले भने–‘राजधानी बनाउने भनेको नयाँ शहर बनाउने हो, क्षेत्रीय विचारको विकास गर्ने र जनतालाई भ्रममा पार्ने काम होइन । त्यसले राम्रो परिणाम ल्याउदैन ।’
उनले प्रदेशको नामाकरण र राजधानीको विषय टुङगो लगाउन सुझाव लिने र प्राविधिक पाटोको अध्ययन गर्ने काम सकिएको हुदा आगामी अधिवेशनबाट संबैधानिक प्रक्रिया अनुसार अगाडी बढ्ने जानकारी गराए ।
सभामुख घर्तीले संघीयताप्रति पछिल्लो समयमा जनतामा निराशा बढेकोप्रति राजनीतिक नेतृत्व सचेत बन्नु पर्ने बताउदै राजनीतिक परिर्वतन सजिलो भएपनि सत्ता परिर्वतनसंगै पुरानो संस्कार र संस्कृति परिर्वतन गर्न गाह्रो हुने हुदा केही अन्यौलता देखिएको बताए ।
तीन तहवीच आपसी समझदारी र सहकार्यमा मात्र संघीयता कार्यान्वयन हुन्छ भन्दै सभामुख घर्तीले प्रदेश सरकार संघीयता कार्यान्वयन गर्ने मुख्य कडी भएको बतए । रोटरी जस्ता सामाजिक संघसंस्थाहरु सामाजिक संस्कार परिर्वतन गर्न र शिक्षा, स्वाश्थ्य लगायतका क्षेत्रमा उपश्स्थिती जनाउन उनले आग्रह गरे ।
क्लबका कार्यवाहक अध्यक्ष बालकृष्ण पौडेलको अध्यक्षता, मणीरत्न पाण्डेको स्वागतमा भएको कार्यक्रम सञ्चालन क्लबका सचिव रोमनाथ शर्माले गरेका थिए। सो अवसरमा भरखरै सम्पन्न रुपन्देही उद्योग सघको निर्वाचनबाट निर्वाचित रोटरी क्लबका सदस्यहरुलाई संघका वरिष्ठ उपाध्यक्ष माधव पौडेल, द्वितिय उपाध्यक्ष कृष्ण प्रसाद पराजुली, महासचिव जिवकान्त काफ्ले, कोषाध्यक्ष हरि बहादुर खत्रीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा लोकनाथ उपाध्याय, अजयमान श्रेष्ठ, खेम पुन, नारायण पन्थ, राजेन्द्र बहादुर जिसी लगायतले सभामुखसंग विभिन्न जिज्ञाशा राखेका थिए ।