२०२५–२६ सालतिर भारतको बनारसमा एउटा कवि सम्मेलनको आयोजना भएको थियो । मोदनाथ प्रश्रित लगायतले सम्मेलनको आयोजना गरेका थिए । केही विद्यार्थीहरुले मदनले पनि राम्रो कविता लेख्छन् भनेर आयोजकलाई भनेछन् । कवि सम्मेलनमा मदनले एउटा गीत र कविता सुनाए । यो नै एमालेका तत्कालीन महासचिव मदन भण्डारीको राजनीतिक प्रस्थान विन्दु बन्यो ।
पुष्पलाल नेतृत्वको कम्युनिष्ट पार्टी अन्तर्गतको सांस्कृतिक मोर्चाको अगुवाई गरेका मोदनाथ प्रश्रित र मदन भण्डारीको सम्पर्क त्यसपछि बढ्दै गयो । मोदनाथ प्रश्रितले मदनलाई राजनीतिमा ल्याउन निकै प्रयास गरे । व्यक्तिगत आग्रह गर्नेदेखि मदनको घर परिवारलाई पनि सम्झाएर बल्लतल्ल राजनीतिमा ल्याए ।
कम्युनिष्ट राजनीतिमा प्रवेश गरेपछि मदन भण्डारीले आफ्नो सक्रियता र क्षमतालाई बढाउँदै गए । नेकपा मालेको महासचिव बने । पछि २ माक्र्सवादी एकीकृत भएर बनेको एमालेको पनि महासचिव बने ।
नेपाली राजनीतिमा जनताको बहुदलीय सिद्धान्त प्रतिपादन गरे । राजनीतिक सिद्धान्तकर्ता मात्र होइन मदन भण्डारी कुशल नेतृत्वकर्ता र प्रखर वक्ता पनि थिए । युवा उमेरमै नेपालको कम्युनिष्ट राजनीतिको उचाइमा पुगेका मदन भण्डारीको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको रहस्यमय जीप दुर्घटनामा परी मृत्यु भयो । दुर्घटनामा मदन भण्डारीसँगै एमालेका तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको पनि ज्यान गयो ।
नेपालको कम्युनिष्ट इतिहासमा जेठ ३ गतेलाई कालो दिनको रुपमा मानिन्छ । मदन भण्डारीको राजनीतिक जीवनबारे तत्कालीन नेकपा एमालेका पूराना नेता पूर्व केन्द्रीय सदस्य तथा पूर्व शिक्षामन्त्री मोदनाथ प्रश्रितले यसरी आफ्नो कुरा राखेका छन् ।
.....
मोदनाथ प्रश्रित
................
म २४ सालमा नै पुष्पलालले नेतृत्व गरेको कम्युनिष्ट पार्टीको सदस्य भएको थिएँ । यो बीचमा म जेल परेर एक वर्षमा छुटेँ । त्यसपछि हामीले एउटा सांस्कृतिक अभियान लिएर भारत भ्रमण गर्दा पुष्पलालसँग भेट भयो । बनारसमा पुष्पलालसँग ५ वर्ष जति सँगै बसियो । त्यहाँ हामीले एउटा सांस्कृतिक मोर्चा बनायौं । पुष्पलाल, म र बनारसका केही विद्वानहरु बसेर सांस्कृतिक मोर्चाको दस्तावेज तयार गरियो । दस्तावेज बनेपछि मोर्चाको सम्मेलन गर्ने तयारी थाल्यौं ।
त्यसै क्रममा हामीले बनारसमा कवि सम्मेलनको आयोजना गर्यौं । कवि सम्मेलनमा साथीहरुले ‘मदन भण्डारीले पनि कविता लेख्नुहुन्छ’ भनेर उहाँलाई बोलाउनुभयो । कवि सम्मेलनमा उहाँले एउटा गीत र एउटा कविता सुनाउनुभयो । उहाँको कविता राम्रो लाग्यो । बाहिर आएर मदनसँग बसेर कुराकानी गरें ।
सुरुमा मदन भण्डारी पढ्नको लागि बृन्दावन जानुभएको रहेछ । मदनसँगै उहाँको दाजु मोहन पनि त्यतै हुनुहुँदो रहेछ । दाजु अहिले देवघाटमा योगीको रुपमा आश्रम बनाएर बस्नुभएको छ । मदनजी पछि वृन्दावनबाट बनारसमा आएर संस्कृत विश्वविद्यालयमा पढ्दै हुनुहुन्थ्यो । उहाँ पहिलेदेखि नै वाम विचार तिरै झुकाव राख्नुभएको रहेछ । दाजु मोहन चाँही नेपाली कांग्रेसतिर हुनुहुन्थ्यो । विचार नमिलेपछि मदन वृन्दावन छोडेर बनारस आउनुभएको रहेछ ।
कुराकानीका क्रममा उहाँले ‘मैले एउटा काव्य लेखेको थिएँ । तपाईलाई देखाउन आउँछु भन्ने सोंचेको थिएँ आज भेट भयो’ भन्नुभयो । मैले उहाँकोे काव्य हेरें एउटा किसान र किसानको परिवारसँग सम्बन्धित रहेछ । काव्य गिती शैलीमा थियो । तर त्यो अहिलेसम्म छापिएको मैले देखेको छैन । त्यसमा केही त्रुटिहरु भएको बताइदिएँ, सच्याइदिएँ । त्यसपछिका अन्य गोष्ठीहरुमा पनि मदन भण्डारीलाई बोलाउन थाल्यौं । हामीबीचको आवतजावत बढ्न थाल्यो ।
हामीले गठन गर्न लागेको सांस्कृतिक मोर्चा गठनको लागि म, जीवराज आश्रीतजी, बोधराज काफ्ले, रामचन्द्र भट्टराई लागेका थियौं । मदन भण्डारी पनि पूर्वको मान्छे, राम्रो कविता लेख्ने, चेतना भएको उहाँलाई पनि सामेल गराऔं भनेर सल्लाह भयो । त्यसको लागि प्रयत्न गर्यौ ।
पहिले त उहाँले अलि अनकनाउनुभयो–‘दाइ जोगी भएर हिड्नुभयो । मेरा भाइ, बहिनीहरु धेरै छन् । उनीहरुलाई पढाउनुपर्ने मेरै दायित्व छ । हामी पहाडबाट आएर झोडा फाँडेर बसेका छौं । अझै व्यवस्थित बस्ती भएको छैन । मलाई गाह्रो छ’ भन्नुभयो ।
त्यसो हो भने अलि–अलि गर्दै तपाईले छरछिमेकमा प्रयत्न गर्नुहोला भन्यौ । यता सांस्कृतिक मोर्चामा पनि उहाँलाई हामीले तान्यौ । बस्दिन भन्नुभएको थियो । हामीले कर गरेर मोर्चाको केन्द्रीय सदस्यमा पनि राख्यौं ।
सांस्कृतिक मोर्चाको केन्द्रीय समितिमा म, मदन भण्डारी सहित बोधराज काफ्ले, जीवराज आश्रीत, रामचन्द्र भट्टराई लगायत थियौं । त्यसपछि घरपरिवारको अवस्था के रहेछ भनेर बुझ्न मदनसँगै म पनि उहाँको घर पुगें ।
भरखर घर बनाएको, जग्गा आवाद नभइसकेको रहेछ । अलि ठूलो परिवार, उहाँले भनेजस्तै घरमा समस्या रहेछ । ‘ठीकै छ तपाई सांस्कृतिक मोर्चामा बसेर खुल्ला रहेरै काम गर्नुस्, परिवारलाई पनि हेर्नुहोस’ भनेपछि उहाँ राष्ट्रिय जनसांस्कृतिक मञ्चमा बस्न तयार हुनुभएको हो । त्यसपछि मदन भण्डारी गाउँमा बस्नुभयो । उहाँको स्वर पनि मिठो थियो । गाउँमा कार्यक्रमहरुमा गीत गाउने लगायतका प्रस्तुति पनि गर्नुभयो ।
त्यहाँका स्थानीयले मदनलाई तपाईले पार्टी संगठनमा पनि सहयोग गर्नुपर्यो भन्दा उहाँले मान्नुभएन । त्यहाँका साथीहरुले मलाई फेरि बोलाएर मदनलाई सम्झाउन भने । म गएर मदनलाई ‘अब तपाई गाउँ स्तरमा पनि संगठनको काम गर्नुस्’ भनेपछि उहाँले गाउँस्तरमा हुन्छ भन्नुभयो ।
हामीले बैठक पनि गर्यौ । झापाका साथीहरुले कोअर्डिनेशन केन्द्र पनि खोल्नुभएको थियो । उहाँहरुसँग पनि सहकार्य गर्नुपर्छ भनेर हामीले कुराकानी चलायौं । सीपी मैनालीसँग सम्पर्क गरेर कुराकानी गरियो । त्यसबेला सम्म पनि मदनजी सक्रिय भएर हिड्ने छाँट देखिएन । स्थानीय रुपमा पार्टीको काम गरेपनि सक्रिय हुनुभएन । मैले जीवराजजीलाई ‘हिड्नुस मदनजीलाई त्यहाँबाट माथि निकाल्न पर्यो । त्यत्तिको मान्छेलाई हामीले घरमा बस्न दिन हुन्न’ भनेर उहाँको घरमा गयौं ।
रातभर मदनकोे बुबा–आमा अनि भाइबहिनीलाई पनि सम्झायौं । उहाँले बेलाबेलामा घर आएर हेरिहाल्नुहुन्छ । भाइबहिनी यतिका हुनुहुन्छ भनेर सम्झाएँ । मलाई बनारसमा गुरुजी भन्नुहुन्थ्यो मदनले । ‘अब गुरु नै आएर भनेपछि त पार्टीमा काम गर्न जा बाबु, घरको पनि ख्याल गर्नु’ भनेर बुबाआमाले मदनलाई भन्नुभयो । त्यसपछि मदन आउनुभयो ।
पछि कोअर्डिनेसन केन्द्र र मुक्तिमोर्चाका बीचमा एकता भयो र नेकपा माले गठन गर्ने सल्लाह भयो । सम्मेलनले माले बनायो । नेकपा माले बनिसकेपछि क्रमशः उहाँ पनि राजनीतिमा सक्रिय हुँदै जानुभयो ।
प्रतिभाशाली मान्छे पूर्वाञ्चलमा उहाँ सशक्त देखिनुभयो । हामीले पञ्चायत विरुद्धको आन्दोलन जारी राख्यौं । ५–७ वर्षमा उहाँको क्षमतामा निकै वृद्धिविकास भयो । त्यसपछि २०३३ सालमा म जेल परें, ८ वर्ष जति लामो जेल बस्न पर्यो ।
त्यसअवधिमा मदनजीले राजनीतिमा निकै प्रगति गर्नुभएछ । पार्टीमा सक्रियता तीब्र बनाउनुभएछ । त्यसपछिको सम्मेलनले उहाँलाई महासचिवको रुपमा चुन्यो । म पनि जेलबाट निस्कें । हाम्रो सहयात्रा सुरु भयो ।
मदन भण्डारी निकै अध्ययनशील, प्रखर वक्ता, लेखनमा पनि उत्तिकै राम्रो । कविता पनि लेख्ने । निर्णय गर्ने क्षमता भएको हुनुहुन्थ्यो ।
पोखराको कार्यक्रमबाट फर्केर चितवन जाने क्रममा उहाँलाई दुर्घटनामा पारियो । दासढुंगा घटना भएको सुन्ने बित्तिकै अमृत बोहोरा र म काठमाडौबाट गाडी लिएर पुग्यौं । त्यहाँ पुग्दा हामीले सुनियोजित रुपमा घटना गराइएको पायौं । गाडी पल्टिएको ठाउँमा पराल र भुस राखिएको थियो । सडकमै ३ वटा थुप्रा बालुवा राखिएको थियो । पहिलो र दोस्रो बालुवा थुपारिएको बाटोपछि खोलामा झर्ने बनाएको रहेछ । त्यहाँका मान्छेसँग सोध्दा ‘ड्राइभर माथि नै हाम फाल्यो । गाडी तल गएर अड्क्यो । ड्राइभरले तल गएर ठूलो ढुंगाले हानेर गाडी तल खसाल्यो, आफू पनि नदीमा गएर पानी छर्केर ज्यान भिजाए झै गर्यो र निस्क्यो’ भने । त्यसपछि त्यो षडयन्त्र हो भन्ने हामीलाई लाग्यो ।
२०५१ सालको मध्यावधि चुनावपछि नेकपा एमालेको सरकार बन्यो । हाम्रो सरकार बनिसकेपछि मैले पार्टीको नेताहरुलाई ‘त्यो ड्राइभर (अमर लामा) जेलमा छ । त्यसलाई निकालेर लठ्याउने औषधि खुवाएर सबै कुरा भन्छ कि एकपटक प्रयत्न गरौं’ भनेर भनेँ । साथीहरुले ‘खै यतिका समय गइसक्यो, अब के हुन सक्छ र’ भन्नुभयो ।
मलाई चित्त बुझेन–‘अहिले हामी सत्तामा छौं, कम्तीमा प्रयत्न त गरौं ।’ भनेर भनें । त्यसबेला केपी ओली गृहमन्त्री हुनुहुन्थ्यो । ‘तपाई गृहमन्त्री हुनुहुन्छ, बाहिर निकाल्न सक्नुहुन्छ । केही प्रयत्न गरौं’ भन्दा पनि खै खै भन्नुभयो । मलाई चाँही के लागेको थियो भने, त्यसलाई लिएर आएर पिटेर हुन्छ कि, लठ्याउने औषधि खुवाएर पनि रहस्य उद्घाटन हुन्छ होला भन्ने मलाई लागेको थियो ।
मैले प्रस्ताव गरें, तर पार्टीबाट तीब्र आकांक्षा व्यक्त भएन । किन साथीहरुले मान्नुभएन, किन प्रयत्न गर्नुभएन ? त्यो प्रश्न मेरो मनमा अझै पनि नाचिरहेको छ । साथीहरुले नेतृत्वको प्रतिस्पर्धा ठानेर हो वा आँट नभएर हो । खै के कारणले गृहमन्त्री आफ्नो हातमा हुँदा पनि घटनाको रहस्य बाहिर ल्याउन जे जस्तो तत्परता गर्नुपर्दथ्यो त्यो भएन ।
मदन भण्डारी भएको भए पार्टी अझ धेरै प्रभावशाली भएर जान्थ्यो भन्ने मलाई लाग्छ । मैले साहित्यिक र सांस्कृतिक क्षेत्रबाट महिला उत्थान, दलित उत्थान, जनजातिका क्षेत्रहरुमा व्यापक रुपमा काम गरेको थिएँ ।
मदनले पार्टी संगठनात्मक रुपमा ठूलो काम गर्नुभयो । वास्तवमा भन्ने हो भने तत्कालीन एमालेलाई त्यो स्थान सम्म ल्याउन आधा काम हामी दुई जनाले गरेका हौं । मदन भण्डारीलाई धेरै जोड गरेर मैले नै राजनीतिमा तानेको हो । त्यसैले दासढुंगा घटना हुँदा पार्टीमा सबैभन्दा बढी पीर मलाई पर्यो । तर कसैले सुनेन ।
उहाँप्रति हार्दिक श्रद्धाञ्जली ।
(कुराकानीमा आधारित)