बुटवल- जनता समाजवादी पार्टी जसपाले कारवाही गरेर प्रदेश सभा सदस्यबाट पदमुक्त भएकी कल्पना पाण्डेको ठाउँमा पार्टी अर्को मनाेनयनकाे प्रक्रिया सुरु गरेको छ। हालै निर्वाचन आयोगबाट उपेन्द्र यादव पक्षले जसपाको आधिकारिकता पाएको थियो। आधिकारिकता पाएपछि जसपाले लुम्बिनीका तीन प्रदेस सभा सदस्यलाई पदमुक्त गरेको थियो।
पदमुक्त भएका मध्ये सन्तोषकुमार पाण्डे र विजयबहादुर यादव प्रत्यक्ष निर्वाचित हुन् । कल्पना पाण्डे समानुपातिक तर्फकी सांसद थिइन्। समानुपातिक तर्फको सांसदको पद रिक्त भएमा बन्द सुचिमा भएको अर्को नाम पार्टीले मनोनयन गर्ने व्यवस्था छ।
जनता समाजवादी पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष असोक यादवले नयाँ सांसद नियुक्तीको प्रक्रिया सुरु भइसकेको जानकारी दिए। ‘प्रदेश सभा सचिवालयले पदरिक्त भएको जानकारी इमेल मार्फत गराइसकेको छ। आज औपचारिक पत्र मार्फत गराउँदै छ।’ उनले भने ‘छिट्टै सोही समूहबाट अर्को नियुक्ती हुन्छ।’
पाण्डे तत्कालिन राजपामा महिला समूहबाट प्रदेश सभा सदस्य बनेकी थिइन्। निर्वाचन आयोगमा बुझाइको तत्कालिन राजपाको बन्द सूचिमा सोही समुहबाट पाण्डेपछि निर्मला मुडभरी भट्टराइको नाम रहेको छ। जसपा लुम्बिनी अध्यक्ष अशोक यादवले पार्टीको केन्द्रीय कार्यकारिणी समितिले निर्णय गरेपछि मात्र जसपाबाट हुने नयाँ सांसदको टुंगो लाग्ने बताए।
जनता समाजवादी पार्टीका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले बन्द सुची अनुसार नै नयाँ मनोनयनको हुने जानकारी दिए। ‘पार्टीले त एउटा प्रक्रिया मात्र गर्ने हो । बन्द सूचीमा भएकै क्रमसंख्या अनुसार नै नयाँ मनोनयन हु्न्छ।’ उनले भने ‘तत्कालिन राजपाको भएपनि सांसद भइसकेपछि उहाँले पार्टीको नीति मान्नुपर्छ ।’
लुम्बिनी प्रदेश सांसदबाट पदमुक्त भएपछि जसपाका ४ सांसदले सर्वोच्च अदालतमा दायर गरेको मुद्दा विचाराधीन छ । त्यस मध्ये सुमन शर्मा रायमाझीले राज्यमन्त्रीबाट राजिनामा दिएर जसपाको मुलधारमा आइसकेकी छन्। उपेन्द्र यादव पक्षले पार्टीको आधिकारिकता पाएपछि तीन जना सांसद फेरि कारवाहीमा परेर पदमुक्त भएका छन्। पदमुक्त भएपछि उनीहरु पुन सर्वोच्च अदालत गएका छन्। सर्वोच्चमा मुद्दा परेको अवस्थामा रिक्त समानुपातिक सांसदको मनोनयन प्रक्रिया निर्वाचन आयोगले अघि नबढाउन पनि सक्छ ।
प्रदेश सभा सचिवालयले रिक्त भएको जानकारी गराएपनि अदालतमा मुद्दा जारी रहेको भन्दै निर्वाचन आयोगले सम्बन्धित दलसँग आवहान नगर्न सक्छ। जसपाका प्रचार विभाग प्रमुख खतिवडाले मुद्दाको अवस्था बारे विचार गरेर र निर्वाचन आयोगसँग सल्लाह गरेर पार्टीको कार्यकारिणी समितिले निर्णय गर्ने बताए ।
आयोगले प्रक्रिया अघि बढाएमा भने प्रदेश सभा सदस्य नियमावली २०७४ को नियम ४७ बमोजिम नयाँ मनाेनयनकाे प्रक्रिया सुरु हुने छ। नियमावलीमा प्रदेश सभा सदस्यको पद रिक्त भएमा अर्को सदस्य मनोनयन गर्ने व्यवस्था छ । जस अनुसार रिक्त भएको जानकारी प्रदेश सभा सचिवालयले निर्वाचन आयोगलाई जानकारी गराउनु पर्दछ।
रिक्त भएको जानकारी पाएपछि आयोगले सम्बन्धित दललाई अर्को उम्मेदवारको नाम मनोनयन गरी पठाउन सात दिनको समय दिई जानकारी गराउने छ ।जानकारी प्राप्त भएपछि सम्बन्धित दलले दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिको निर्णय अनुसार उम्मेदवारको बन्दसूचीमा कायम रहेको अर्को उम्मेदवारको नाम मनोनयन गरी पठाउनु पर्नेछ ।
उम्मेदवार मनोनयन गरी पठाउँदा जुन समावेशी समूहको सदस्यको पद रिक्त भएको हो उपलब्ध भएसम्म सोही समावेशी समूहको उम्मेदवारको नाम मनोनयन गरी पठाउनु पर्ने व्यवस्था छ । मनोनयन गरी पठाएको उम्मेदवारलाई आयोगले सदस्य पदमा निर्वाचित भएको घोषणा गर्नेछ ।