बुटवल-लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले आज कार्यभार सम्हाल्दै छन्।
शुक्रबार बिहान ११ बजेपछि प्रदेश प्रमुखले कार्यभार सम्हाल्ने छन्।
सरकारले लुम्बिनी प्रदेश प्रमुखमा धर्मनाथ यादवलाई हटाएर अमिक शेरचनलाई प्रदेश प्रमुख नियुक्त गरेको थियो। नेकपा माओवादीको सिफारिसमा सरकारले शेरचनालाई नियुक्त गर्ने निर्णय गरेको हो । शेरचन यसअघि गण्डकी प्रदेश प्रमुख भइसकेका छन् ।
तत्कालिन ओली सरकारले गण्डकीमा शेरचनलाई हटाएर सीता कुमारी पौडेललाई नियुक्त गरेको थियो ।
बामपन्थी बिचारधारामा निष्ठापूर्वक अडिग रहने थोरैमध्येका व्यक्तित्वमा पर्दछन् अमिक शेरचन । तत्कालीन समयमा पञ्चायत विरोधी अभियानमा सक्रिय उनले विभिन्न समयमा कारागार जीवन पनि बिताएका छन् ।
उनी वि.सं २००६ मा म्याग्दी जिल्लाको ओखरबोटखानी–९ मा बडिबहादुर र उमादेवीका छोराका रुपमा उनको जन्म भएको हो । उनी हाल भरतपुर महानगरपालिका–२६ का स्थायी बासिन्दा रहेका छन् ।
वामपन्थी राजनीतिमा युवावस्थादेखि नै सक्रिय रहदैं आएका शेरचन विसं २०३५ मा निर्मल लामाले नेतृत्व गरेका नेकपा (चौथो महाधिवेशन) को केन्द्रीय सदस्य एवं चितवन जिल्ला सचिव भएका थिए । विसं २०४७ मा तीन पार्टी र त्यसको एक वर्षपछि अरु दुई पार्टी थपिएर बनेको नेकपा (एकता केन्द्र) मा शेरचन केन्द्रीय सदस्य रहेका थिए ।
शेरचन वि.सं २०४७ मा संयुक्त जनमोर्चाको चितवन जिल्ला अध्यक्ष भएका थिए, जुनबेला केन्द्रीय अध्यक्षमा डा.बाबुराम भट्टराई रहेका थिए । एकता केन्द्र र संयुक्त जनमोर्चाका तर्फबाट विसं २०४८ को निर्वाचनमा उम्मेदवार बनेका शेरचन चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित भए ।
पछि वि.सं २०५१ मा संयुक्त जनमोर्चाबाट डा.भट्टराई र निरञ्जन वैद्य अलग्गिएर छुट्टाछुट्टै पार्टी खोलेपछि विसं २०५४ को जनकपुर सम्मेलनबाट शेरचनलाई संयुक्त जनमोर्चाका केन्द्रीय अध्यक्ष बनेका थिए । वि.सं २०५९ मा संयुक्त जनमोर्चा र राष्ट्रिय जनमोर्चा मिलेर बनेको जनमोर्चा नेपालको अध्यक्ष पनि शेरचन नै भए । विसं २०६३ मा सो पार्टी विघटन भएको घोषणा गरी तत्कालीन नेकपा (माओवादी) मा समाहित भएको थियो ।
माओवादीमा पार्टीमा शेरचन स्थायी समिति सदस्य बनेका थिए । यससँगै उनले पार्टीकोअनुशासन कमिटीको अध्यक्षको भूमिका पनि निर्वाह गरेका थिए । शेरचन विसं २०६३ मा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीसमेत बनेका थिए ।
वि.सं २०६४ को पहिलो संविधानसभाको निर्वाचनमा उनी चितवन क्षेत्र नम्बर ५ बाट विजयी भएका थिए । शेरचन नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको आमन्त्रित सदस्य पनि रहेका थिए ।