बुटवल- लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी जसपाबाट मन्त्री भएका प्रदेश सांसदले फेरी पार्टीले कारवाही गर्नुको कुनै अर्थ नहुने बताएका छन् । सर्वोच्चमा मुद्दा चलेको बेला कारवाहीको कुरा उठ्नु भनेको अदालतको अवहेलाना भएको उनीहरुको भनाइ छ।
जसपाको विवादमा निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारिकता दिएको थियो । आधिकारिकता पाएपछि जसपाको कार्यकारिणी समितिले लुम्बिनीमा मन्त्री भएका सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव र कल्पना पाण्डेलाई कारवाही गर्ने निर्णय गरेको छ।
भौतिक पूर्वाधार विकासमन्त्री सन्तोषकुमार पाण्डेले सर्वोच्चले सांसद कायमै गरिदिएकाले मुद्दा नटुंगीदासम्म कारवाहीको अर्थ नहुने बताए । ‘एउटा मान्छेलाई कतिपटक झुण्डाइन्छ । एक पटक त कारवाही भोगिसकेको हो । सर्वोच्चले हामीलाई फेरी माननिय बनाइदिएको हो।’ उनले भने ‘अहिले मुद्दा चल्दा चल्दै कारवाही गर्यौ भन्ने के अधिकार हुन्छ उनीहरुको ?यो त अदालतको अवहेलना गरेको हो ।’
अहिले आएको कारवाहीको चर्चा दुषित प्रक्रिया भएको पाण्डेको भनाइ छ । सभामुखले कारवाहीको सुचना निकाले भने अवहेलनाको कारवाही भोग्नु पर्ने उनले बताए। बर्तमान प्रधानमन्त्री जस्तै आफूहरु पनि अदालतको आदेशबाट सांसद रहेको पाण्डेको तर्क छ । ‘परमादेश मार्फत प्रधानमन्त्री नियुक्त भएको छ । परमादेशकै माननीय त हामी पनि हो नि ।’ उनले भने ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विजयबहादुर यादवले कारवाही भनेको प्रचारबाजी मात्र भएको बताए । ‘जसपाको आधिकारिकता हुँदैमा माओवादीको सभामुख लगेर एक दिनमा सुचना टाँसेर होहल्ला र मिडियाबाजी गरेर कारवाही भो भन्ने होला।’ उनले भने त्यसको केही अर्थ छैन।’
उद्योग वन तथा वातावरण मन्त्री कल्पना पाण्डे भने विरामी भएर काठमाडौँमा उपचाररत छन्। यस अघि राज्यमन्त्री भएकी सुमन शर्मा रायमाझीले पदबाट राजिनामा दिएर सरकारलाई समर्थन नरहेको बताइसकेकी छन्।
जसपाका संसदीय दलका नेता सहश्रराम यादवले पार्टीको निर्णय विपरित गएकाले केन्द्रिय कार्यकारिणी समितिबाट कारवाही भएको बताए । उनले आफूले पार्टीको मुलधारमा आउन पटक पटक आग्रह गरेपनि नआएको बताए । ‘निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि पनि मैले जे भयो भयो । अब मुलधारमा फर्कनुस् भनेको हो । अहिले मन्त्रीबाट राजिनामा दिएपनि उहाँको कारवाही मैले फिर्ता गराउँछु।’ उनले भने ‘अब आधिकारिकता पाएपछि पार्टीको विधी नमान्ने अनि कारवाही गर्न नपाउने।’ यादवले एक दुई दिन भित्रै प्रदेश सभाबाट कारवाहीको सूचना जारी हुने बताए ।
मन्त्री भएका ३ जनालाई कारवाही भएमा प्रदेश सभा ८० सदस्यीयमा झर्ने छ । मुख्यमन्त्रीको पक्षमा एमालेसँग ३९ सांसद मात्र हुने छन् । नेपाली कांग्रेससँग १९, माओवादी केन्द्रसँग १९, जसपाका ३ र राष्ट्रिय जनमोर्चासँग १ गरि विपक्षी गठबन्धनसँग ४२ सांसद हुने छन्। आफ्नो पक्षमा बहुमत पुग्ने देखेपछि विपक्षी गठबन्धनले अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेका छन्।