बुटवल-लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादवलाई प्रदेश सरकारले बिदाई गरेको छ।
उनलाई मुख्यमन्त्री शंकर पोखरेलले बुधबार बिहान बिदाई गरेका हुन्।
मंगलबार मन्त्रिपरिषदको सिफारिशमा राष्ट्रपतिले पदमुक्त गरेका प्रदेश प्रमुख यादव हटाईएका थिए।
नयाँ सरकार गठनपछि प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले लुम्बिनी प्रदेश प्रमुख यादवलाई हटाएर उनको स्थानमा गण्डकी प्रदेशका पूर्वप्रदेश प्रमुख अमिक शेरचनलाई नियुक्त गरेको छ ।
पार्टी एकतापूर्वको तत्कालीन एमाले र माओवादीको भागवण्डाका आधारमा १८ कात्तिक ०७६ मा लुम्बिनी प्रदेश प्रमुखमा धर्मनाथ यादवलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेकी थिइन् ।
नेपाली कांग्रेसले ७ माघ ०७४ मा प्रथम प्रदेश प्रमुखको रूपमा उमाकान्त झालाई नियुक्त गरे पनि ओली नेतृत्वको सरकारपछि यादवलाई लुम्बिनी प्रदेश प्रमुखमा नियुक्त गरिएको थियो ।
साढे २ वर्ष प्रदेश प्रमुख बनेर बाहिरिएका यादव कार्यभरि लोकप्रिय बन्न सकेनन्, आलोचित मात्र बने । यतिसम्म कि विपक्षी गठबन्धनले उनलाई ‘पार्टीको अमुक कार्यकर्ता’को संज्ञा दिए ।
लुम्बिनी प्रदेश विपक्षी गठबन्धनले यसअघिका प्रदेश प्रमुख यादवलाई अल्पमतका मुख्यमन्त्रीलाई नियुक्ति दिएको आरोप लगाइरहेका छन् ।
६ वैशाखमा विपक्षी गठबन्धनले प्रदेशसभामा मुख्यमन्त्री पोखरेलविरुद्ध दर्ता गरेको अविश्वास प्रस्तावमाथि छलफल गर्नका लागि १९ वैशाखमा प्रदेशसभाको बैठक आह्वान भएको थियो ।
तर, मुख्यमन्त्री पोखरेलले त्यही दिन बिहान पदबाट राजीनामा दिए भने साँझ पुनः मुख्यमन्त्रीमा नियुक्त भए ।
दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त हुँदा प्रदेश प्रमुख यादवले बहुमत नहेरी ‘राजनीतिक आस्था’कै आधारमा पोखरेललाई नियुक्ति दिएको आरोप विपक्षी गठबन्धनको छ ।
१९ वैशाखमा मुख्यमन्त्री दाबी गरिएको पत्रमा पोखरेलले ४३ जना सांसदको किर्ते हस्ताक्षरसहित सरकारमा दाबी गरेको आरोप विपक्षीको छ ।