बुटवल- लुम्बिनी प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले केहीदिनमा सरकारले विश्वासको मत लिने बताएका छन् । प्रतिपक्षीले उठाएको माग अनुसार नै सरकार बैधानिक ढंगले अघि बढ्ने उनले बताए । मंगलबार पत्रकारहरुसँग कुरा गर्दै आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका चौधरीले वातावरण बनेपछि प्रदेश सभाबाट विश्वासको मत लिने जानकारी दिए।
जनता समाजवादी पार्टी जसपाको विवादमा आयोगले निर्णय गरेपनि लुम्बिनी प्रदेशमा खासै फरक नपर्ने चौधरीको भनाई छ । ‘केन्द्रमा पार्टीका मुद्दा आदिले प्रदेशमा केही प्रभाव त पार्छ। तर हाम्रो प्रदेशमा निर्वाचन आयोग र अदालतको निर्णयले केही फरक पर्दैन।’ उनले भने ‘प्रदेश सरकार आफ्नो गणीतको हिसावले अघि बढ्न सक्छ।’
जसपाकी सांसद पुरमती ढेंगामरलाई सत्तापक्षले लुकाएको भन्ने आरोपमा कुनै सत्यता नभएको मन्त्री चौधरीले बताए । उनले सरकार गैरसंसदीय खेलमा नलाग्ने दाबी गरे। ‘यो गैरसंसदीय खेल हामीबाट हुँदैन। सत्तापक्षसँग सरोकारको विषय नै होइन ।’ चौधरीले भने ‘आफ्नो माननीयले के हुनुहुन्छ भन्ने कुरा खोजिनिती गर्ने सम्बन्धित दलको कुरा हो। फलानाको सरकार आएकाले पानी परेन भन्ने कुरा हुन्छ र?’