बुटवल- आइतबारदेखि सम्पर्कविहिन जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव पक्षकी लुम्बिनी प्रदेश सांसद पुर्मती ढेगा पार्टीको सम्पर्कमा आएकी छिन्। जसपाले सांसद ढेगा आइतबार बिहान ११ बजेदेखि बेपत्ता भएको भन्दै इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएको थियो । जसपाले सत्तारूढ दल नेकपा एमालेले आफ्नो पक्षमा बहुमत कायम गर्न सांसदको अपहरण गरेको आरोप लगाएको छ ।
जसपाका प्रदेश अध्यक्ष अशोक यादवले आइतबार बिहानदेखि सांसद ढेगा सम्पर्कबिहीन भएको बताएका थिए । सोमबार पार्टीको सम्पर्कमा आएको जसपा लुम्बिनी प्रदेशका नेता यज्ञ पोखरेलले जानकारी दिए। उनका अनुसार ढेंगा पार्टीको सम्पर्कमा आएकी हुन्। ढेंगाले आफु तनाबमा रहेको र समस्यामा परेको बताएको पोखरेलले बताए।
पाल्पाकी ढेगा जसपाकी समानुपातिक सांसद हुन्। ६ जना सांसद प्रदेशसभा रहेको जसपाका यस अगाडि महन्त ठाकुर पक्षका चारजना मन्त्री बनेका थिए ।त्यसमध्येकी भौतिक पूर्वाधार राज्यमन्त्री सुमन शर्मा रायमाझीले राजीनामा दिएर यादव पक्षमा लागेकी छन् । उनले राजीनामा दिएपछि पोखरेल सरकार अल्पमतमा छ ।