बुटवल – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव पक्षकी लुम्बिनी प्रदेश सांसद पुर्मती ढेगा सम्पर्कबिहीन भएकी छन् ।
जसपाले सांसद ढेगा आइतबार बिहान ११ बजेदेखि बेपत्ता भएको भन्दै इलाका प्रहरी कार्यालय बुटवलमा उजुुरी दिएको छ । जसपाले सत्तारूढ दल नेकपा एमालेले आफ्नो पक्षमा बहुमत कायम गर्न सांसदको अपहरण गरेको आरोप लगाएको छ ।
जसपाका प्रदेश अध्यक्ष अशोक यादवले आइतबार बिहानदेखि सांसद ढेगा सम्पर्कबिहीन भएको बताए । उनले भने, ‘फोन गर्दा घन्टी जान्छ उठ्दैन । घरमा जाँदा छोराले आमाको फोन उठ्दैन बाबाको मोबाइल अफ छ भन्छन् । प्रदेशमा सरकार बनाउने–गिराउने खेल चलिरहेको छ । सत्तापक्ष उहाँलाई सम्पर्क बिहीन बनाएर आफ्नो पक्षमा लैजाने र मन्त्री बनाउने खेलमा त लागेन भन्ने शंका छ ।’
पाल्पाकी ढेगा जसपाकी समानुुपातिक सांसद हुुन् । ६ जना सांसद प्रदेशसभा रहेको जसपाका यस अगाडि महन्त ठाकुर पक्षका चारजना मन्त्री बनेका थिए । त्यसमध्येकी भौतिक पूर्वाधार राज्यमन्त्री सुमन शर्मा रायमाझीले राजीनामा दिएर यादव पक्षमा लागेकी छन् । उनले राजीनामा दिएपछि पोखरेल सरकार अल्पमतमा छ ।
सरकार अल्पमतमा भएकाले ढेगालाई प्रलोभन देखाएर सरकारलाई समर्थन गर्न लगाउने योजना एमालेले बनाएको जसपाको आरोप छ। जसपाका नेता भन्छन्, ‘उहाँलाई मन्त्री बनाउने र उहाँको घरायशी ऋण तिरिदिने गरि कुरा भएको भन्ने सम्मका कुरा आएका छन्, शंकर पोखरेलले सरकार टिकाउन सासद किन्ने सम्मका काम गर्न थाल्नुभएछ।’
एमाले लुम्बिनी प्रदेशसभाका प्रमुुख सचेतक भूमिश्वर ढकालले आफूहरुलाई जसपाले झुुठो आरोप लगाएको बताए । ‘उहाँहरुले हामीलाई सांसदलाई अपहरण गरेको भन्ने आरोप खेदजनक र आपत्तिजनक छ’ ढकालले भने ।
जसपाका प्रदेश नेता यज्ञ पोखरेलले ढेगा हराएको भन्दै ईलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका छन् ।
इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मदन कुुँवरले सांसद सम्पर्क बिहीन भएको सूचनापछि खोजी जारी रहेको बताए । उनले भने, ‘हामीले खोजी जारी राखेका छौँ । सबै ठाउँमा सोधखोज गरिरहेका छौँ।’ ढेगालाई पटक पटक सम्पर्क गर्दा उनको फोन उठेको छैन ।