जो बाइडनले अमेरिकाका ४६औँ राष्ट्रपतिका रूपमा पदको सपथ ग्रहण गरेका छन्। उनलाई सर्वोच्च अदालतका प्रधानन्यायाधीश जन रोबर्ट्सले सपथ ग्रहण गराएका थिए।
कमला ह्यारिसले जो बाइडनसँगै उपराष्ट्रपति पदको सपथ लिएकी छन्। उनी उक्त पदमा निर्वाचित प्रथम महिला हुन्।
सपथ लिइसकेपछि आफ्नो पहिलो टिप्पणी गर्दै राष्ट्रपति बाइडनले भने, "यो प्रजातन्त्रको दिन हो।"
"प्रजातन्त्र निकै बहुमूल्य हुन्छ भन्ने हामीले जान्न पाएका छौँ। यो नाजुक हुन्छ र यो क्षणमा प्रजातन्त्रले जितेको छ।"
नयाँ राष्ट्रपतिले समारोहमा उपस्थित दुवै पार्टीका आफ्ना पूर्ववर्ती राष्ट्रपतिहरूलाई धन्यवाद पनि दिएका थिए।
ह्यारिसलाई सर्वोच्च अदालतकी न्यायाधीश सोनिया सोटोमेअरले सपथ ग्रहण गराएकी थिइन्।
निवर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना उत्तराधिकारीको सपथ ग्रहण समारोहमा भाग नलिने पूर्वघोषणा बमोजिम नै सहभागिता जनाएनन्। आफ्ना उत्तराधिकारीको सपथ ग्रहण समारोहमा उपस्थित नहुने उनी चौथो अमेरिकी राष्ट्रपति हुन्।
तस्वीरहरु: एपी, एएफपी, सिन्ह्वा/रासस



















प्रकाशित मिति: बिहीबार, माघ ८, २०७७, ०९:५२:००