अमेरिकी राष्ट्रपतिका लागि जीत नजिक पुगेका डेमोक्र्याट उम्मेदवार पूर्वउपराष्ट्रपति जो बाइडनले अमेरिकी जनतालाई धैर्य राख्न अपील गरेका छन्।
सम्पूर्ण मत परिणाम आउने समयसम्म प्रतीक्षा गर्न आह्वान गर्दै बाइडनले प्रजातान्त्रिक प्रक्रियाको सम्मान गर्न पनि सबैसँग आग्रह गरेका छन्।
आफूले प्रतिष्पर्धी रिपब्लिकन उम्मेदवार वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पलाई हराउनेमा कुनै दुबिधा नरहेको भन्दै उनले जुन भोटले मुलुकको राष्ट्रपति चुनिन्छ त्यस्तो महत्वपूर्ण एक/एक मत गणना गरिनुपर्नेमा प्रष्ट गरेका छन्।
आफू र उपराष्ट्रपति पदका उम्मेदवार कमला ह्यारिसलाई गणना पूरा हुँदा आफूहरुको जीत हुनेमा पूर्ण विश्वास रहेको भन्दै उनले सम्पूर्ण नागरिकलाई शान्त रहन र चुनावको सबै प्रक्रिया पूरा हुन दिन आह्वान गरे।
उता रिपब्लिकन पार्टीका उम्मेवार ट्रम्पले भने मतगणना जारी रहेका पेन्सिलभेनिया मिचिगन, जर्जिया, नेभेदालगायतका राज्यको मतगणना रोक्न माग गर्दै अदालतमा मुद्दा हाले।
ट्रम्पको चुनावी अभियानका नेताले गणितमा आफूहरु पछि परेको भन्दै अब अरु बाटोका लागि भगवानसँग कामना गर्नुको विकल्प छैन भनेका छन्।
तर डेमोक्र्याट चुनावी अभियानले ट्रम्पका मुद्दा बेतूकको रहेको भन्दै यो जनमतको घोर अपमान हुने बताएको छ।
फक्स न्यूजका अनुसार मतगणनाको अन्तिमतिर पुग्दा बाइडेन जीत घोषणाका लागि ६ मतले पछाडी छन् र उनलाई त्यो मत डेमोक्रेटहरुको परम्परागत राज्यका रुपमा चिनिएको नेभदाबाट मिल्ने अपेक्षा गरिएको छ। यद्यपि, त्यहाँ पनि मतको अन्तर भने निकै नै झिनो देखिएको छ।
ट्रम्पले त बुधबार नै गणनाको प्रारम्भिक रुझानमै आफू विजयी भैसकेको घोषणा गरे। तर जसै मतगणना सकिँदै गयो बाइडेनले उछिन्दै गएपछि उनी मुद्दामामलामा लागेका छन्।
ट्रम्पले आफू पछि परेका नेभादा, विस्कन्सिन, जर्जिया, पेन्सिलभेनिया, मिचिगनलगायतका राज्यमा पुनःमतगणना गर्नुपर्ने माग पनि गरे।