बेइजिङ। भारी वर्षाका कारण बेइजिङमा आएको भीषण बाढी, डुबान र पहिरोमा परी मङ्गलबार साँझसम्ममा ३३ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बुधबार जानकारी दिएका छन् ।
त्यसैगरी उक्त प्राकृतिक विपत्तिपछिको उद्धार तथा राहत कार्यमा सहभागी पाँच जनाको मृत्यु भएको चिनियाँ प्रशासनले जनाएको छ ।
बेइजिङका उपमेयर जिया लिनमाओले एक पत्रकार सम्मेलनमा उद्धारकर्तासहित अन्य १८ जना अझै हराइरहेको जानकारी दिनुभयो । मुख्यतया, गत हप्ता परेको बर्षापछि आएको बाढी र घर भत्किएका कारण उनीहरूका ज्यान गएको हो ।
जुलाई २९ देखि अगष्ट २ सम्म बेइजिङमा आएको ‘डोक्सुरी आँधी’का कारण मुसलधारे वर्षा भएको थियो । बेइजिङमा १४० वर्षअघि रेकर्ड सुरु भएयताको यो सबैभन्दा ठूलो वर्षा हो ।
वर्षाका कारण आएको बाढीले करिब १२ लाख ९० हजार मानिस र करिब १५ हजार हेक्टर जमिनमा लगाइएको बालीनालीमा क्षति पु¥याएको छ ।
जियाका अनुसार, सम्पत्ति र भौतिक क्षतिको आँकलन भइरहेको र घोषित मृतक सङ्ख्यामा वृद्धि हुने सम्भावना देखिएको छ ।
मुसलधारे वर्षाका कारण हिमाली क्षेत्रका पूर्वाधारमा ठूलो क्षति पुगेको छ, ५०७ गाउँमा पानी आपूर्ति प्रभावित भएको छ, २७३ गाउँ र १६ आवासीय समुदायमा विद्युत् कटौती भएको छ भने ३४२ गाउँमा सञ्चार सेवा अवरुद्ध भएको छ । बर्षाले सडक र पुलहरूमा क्षति पुगेपछि २५६ वटा गाउँमा यातायात सञ्चालनमा समस्या भएको छ