रोम: इटाली सरकारले सम्पूर्ण कर्मचारीलाई खोप लगाएको, परीक्षण गर्दा नेगेटिभ आएको वा भाइरसबाट निको भएको प्रमाण दिने ‘ग्रीन पास’ अनिवार्य गरेको छ । नयाँ व्यबस्थासँगै इटाली आफ्ना नागरिकसँग खोपको प्रमाण खोज्ने पहिलो युरोपेली मुलुक बनेको छ ।
नयाँ नियमअनुसार कुनै पनि कर्मचारी पासबिना कार्यलयमा काम गर्न गएमा निलम्बन हुने र उनीहरुको पाँच दिनको तलब कट्टी हुनेछ । नियम पालना नगर्ने व्यवसाय र कर्मचारीले १५ सय युरो जरिवानासमेत तिर्नुपर्नेछ ।
१५ अक्टोबरबाट कार्यन्वयन ल्याइने नयाँ नियमले खोप कार्यक्रमलाई थप सहयोग गर्ने विश्वास गरिएको छ ।
डिजिटल र पेपरमा उपलब्ध गराइएको कोभिडको हरियो पास यसअघि नै रेल स्टेसन, रेस्टुरेन्ट, जिम हल र स्विमिङ पुलमा अनिवार्य गरिएको थियो ।
अब विद्यालयका शिक्षक तथा कर्मचारीले पनि अनिवार्य रुपमा कोभिड पास देखाउनुपर्ने भएको छ । पास नदेखाउनेले काम गर्न पाउने छैनन् ।
बिहीबार सरकारले नयाँ कानून अनुमोदन गरेको हो । नयाँ नियम सम्पूर्ण कार्यक्षेत्र र सबै क्षेत्रका कर्मचारीमा लागू हुनेछ ।
स्वास्थ्यमन्त्री रोर्बटो स्पेरान्जाले नयाँ नियमले खोप अभियान अझ सशक्त बन्ने विश्वास व्यक्त गरे । ‘पास व्यवस्थाले हाम्रो खोप अभियानलाई सशक्त बनाउनेछ,’ उनले भने । करिब ६५ प्रतिशत इटालियाली नागरिकले पूर्णखोप लगाइसकेका छन् ।
इटालीमा कोरोनाका कारण एक लाख ३० हजारको मृत्यु भइसकेको छ भने ४६ लाख संक्रमित बनेका छन् । डेल्टा भेरिअन्टका कारण दैनिक संक्रमितको संख्या फेरी बढेको छ ।