इन्डियन प्रिमियर लिगमा च्याम्पियनको पुरस्कार राशीमा पचास प्रतिशतले कटौती हुने भएको छ। यसअघि २० करोड भारतीय रुपियाँ पाउँदै आएको च्याम्पियनले अब भने दश करोड मात्रै पाउने भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई)ले जनाएको छ।
समाचार संस्था पीटीआईका बमोजिम बीसीसीआईले आईपीएलको खर्च कटौती गर्ने मापदण्ड बमोजिम पुरस्कार राशी घटाउन लागेको छ। उपविजेता टोलीले यसअघि १२ करोड ५० लाख भारतीय रुपियाँ पाउँदै आएकोमा अब भने छ करोड २५ लाख मात्रै पाउनेछन्।
बीसीसीआईले उक्त परिपत्र आईपीएलमा सहभागी हुने सबै फ्रेञ्चाइज टोलीलाई पठाएको छ। समाचार संस्था पीटीआईले बीसीसीआई स्रोतलाई उद्धृत गर्दै फ्रेञ्चाइज टोलीसँग आफैं पनि आम्दानीको उपाय रहेकोले पुरस्कारको राशी घटाइएको उल्लेख गरेको छ।
त्यसैगरी, बीसीसीआईमा कार्यरत मध्य ओहोदाका कर्मचारीले श्रीलङ्का, बङ्गलादेश वा यूएईसहित आठ घण्टाभन्दा कम्ती अवधि उडान हुने राष्ट्रको भ्रमण गर्दा बिजनेश श्रेणीको टिकट उपलब्ध गराइने छैन।
मुम्बई इन्डियन्सको ब्राण्ड मूल्याङ्कन यसपटक पनि वृद्धि भएको छ। यसअघि छ अर्ब ३० करोड रुपियाँ रहेको ब्राण्ड मूल्याङ्कन २०१९ मा भने ८ अर्ब नौ करोड पुगेको छ। कलकत्ता र रोयल च्यालेन्जर्स बैंग्लौरको ब्राण्ड मूल्य भने आठ प्रतिशतले घटेको छ।