रुपन्देही- स्वस्थ जीवनका लागि भन्दै हरेक बिहान ब्याडमिन्टन खेल्नेहरुको संख्या बढ्दै गएको छ। मर्निङ्ग वाक गरेर शारिरिक अभ्यास गर्नेहरु अहिले ब्याडमिन्टन खेलतर्फ आकर्षिक भएका छन्।
तर, पूर्वाधार अभावका कारण ब्याडमिन्टन खेल्ने चाहना हुंदाहुंदै पनि रुपन्देहीमा थुप्रै खेलाडीहरु खुम्चिएर बस्नु परेको छ। शहरी क्षेत्रमा भएका केही ब्याडमिन्टन कभर्डहलहरु सिमित व्यक्तिहरुको कब्जामा छन्।
कभर्डहल प्रवेशमा अत्यधिक महंगो शुल्क तोकेर सिमित ब्यक्तिहरुको कब्जामा राखिएका कारण सामान्य आय भएका खेलाडीहरु बञ्चित हुनु परेको गुनासो बुटवल १३ वेलवासका वावुराम भुसालको छ। जिल्लामा बुटवल र भैरहवामा इन्डोर र आउटडोर गरि करिब ७० वटा कभर्डहल तथा कोर्टहरु छन्।
ती मध्ये ६ वटा कभर्डहल मात्रै व्यवस्थीत छन्। तीनमा ब्याडमिन्टन खेल्न आउनेहरु अधिकांश सेना प्रहरीका अधिकृत तथा प्रतिष्ठित ब्यक्तिहरु मात्र छन्। ब्याडमिन्टन खेल्ने चाहना भएर कभर्डहल खोज्दै जाने खेलाडीहरुलाई महंगो शुल्कका कारण प्रवेश गर्ने चाहना अवरोध हुने गरेको छ। सार्वजनिक स्थानमा निर्माण भएका कभर्डहलमा ब्याडमिन्टन खेल्न चाहनेहरुले समेत क्लबलाई रकम तिर्नुपर्ने बाध्यता छ।
जिल्लाकै व्यवस्थित मानिएको बुटवल ११ मा रहेको रहेको नव–दीलीप कभर्डहलमा ब्याडमिन्टन खेल्न चाहनेहरुले रु ५० हजार तिरेर सदस्य बन्नुपर्ने बाध्यता छ। बार्षिक साढे सात हजार नवीकरणका लागि तिर्नुपर्ने हुन्छ। यो संगै खेलका लागि हुने दैनिक सामान्य खर्च बाहेक अन्य खर्च आफै ब्यहोर्नु पर्ने अवस्था रहेको छ।
यो कभर्डहलमा नियमित ब्याडमिन्टन खेल्ने ८० जना खेलाडीहरु छन्। तर शुल्कअनुसार खेलाडीलाई सुविधा भने छैन। सरकारी तहबाट पर्याप्त सहयोग नभएका कारण शुल्क लिने गरेको बुटवल ब्याडमिन्टन क्वलका अध्यक्ष रमेश थापाले बताए। “खेलाडीहरुबाट संकलित रकम कभर्डहलको पूर्बाधार निर्माणमा खर्च गछौ”- उनले भने।
सो कभर्डहलको पूर्बाधार बिकासका लागि बुटवल उपमहानगरपालिकाले समेत यो वर्ष झण्डै रु साढे ७ लाख सहयोग गरेको छ। तर, यो पर्याप्त नभएको अध्यक्ष थापाको भनाइ छ। खेलका लागि खेलाडीहरुबाट रकम संकलन गरिएपनि सुविधा भने केहिपनि नभएको खेलाडीहरुको गुनासो छ।
जिल्लामा भैरहवा, बुटवल, मधवलिया, शंकरनगर, वेलवास र मुर्गियामा गरी ६ वटा व्यवस्थित इनडोर कभर्डहल रहेको बुटवल ब्याडमिन्टन क्लबले जनाएको छ। सार्वजनिक जमिनमा सरकारी लगानीबाट निर्माण भएका पूर्वाधारमा त्यसरी सामान्य आम्दानी भएका खेलाडीहरु वञ्चित गर्ने गरि तोकिएको शुल्क प्रति कसैले ध्यान दिएको पाइदैन।
जिल्लामा भैरहवा, बुटवल, मधवलिया, शंकरनगर, वेलवास र मुर्गियामा गरी ८ वटा व्यवस्थित इनडोर कभर्डहल रहेको बुटवल ब्याडमिन्टन क्लबले जनाएको छ। भैरहवा ब्याडमिन्टन कभर्डहलमा खेल्न चाहने खेलाडीहरुले पनि क्लबको आजिवन सदस्यका लागि रु १ लाख, वार्षिक रु ६ हजार र महिनाको रु १५ सय तिरेर ब्याडमिन्टन खेल्नुपर्ने बाध्यता छ।
सरकारको लगानी पर्याप्त नहुँदा कभर्डहलको व्यवस्थापनका लागि रकम लिने गरेको क्लबका बरिष्ठ उपाध्यक्ष महेन्द्र श्रेष्ठले जानकारी दिए। उनले भने– “अहिलेसम्म सरकारको लगानी करिब १६ लाख रकम मात्रै छ, यो पर्याप्त नभएपछी व्यवस्थापनका लागि खेलाडीबाटै रकम उठाउने गरेका छौ।” रुपन्देहीको सैनामैना नगरपालिकामा करिब रु १ करोड ५ लाखको लगानीमा हालै कभर्डहल बनेको छ।
कभर्डहल बनाउनका लागि जिल्ला समन्वय समितिले रु १० लाख, जिल्ला खेलकूद विकास समितिले रु १० लाख र सैनामैना नगरपालिकाले रु ८५ लाख लगानी गरेका छन्। कभर्डहलको आजिवन सदस्यका लागि रु. ७० हजार, सदस्य बन्न रु. ३५ हजार शुल्क तोकिएको नन्द बहादुर थापाले बताए।
यो बाहेक सामान्य नागरिकले समेत ब्याडमिन्टन खेल्ने चाहे दैनिक सय रुपैया तिरेर खेल्न मिल्ने व्यवस्था गरिएको उनको भनाइ छ। कभर्डहलको व्यवस्थापन भन्दै जिल्लाका सबै कभर्डहलमा चर्को शुल्क लिने गरिएपनि खेलाडीहरुलाई सुविधा भने दिइएको छैन। सरकारको लगानी भएको कभर्डहलमा क्लबहरुले आफुखुशी शुल्क तोकेर खेलाडीहरुबाट रकम अशुल्ने कुरा ठिक नभएको सैनामैना नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीले बताए।
“कभर्डहल सञ्चालनका लागि नगरपालिकाले कार्यबिधि बनाउदै छ, एउटा समूहको एकाधिकार हुने गरि कभर्डहल सञ्चालन गर्न दिदैनौ, उपसमिति बनाएर आफै सञ्चालन गर्ने तयारीमा छौ”-उनले भने। सार्वजनिक जमिनमा सरकारी लगानीबाट निर्माण भएका पूर्वाधारमा त्यसरी सामान्य आम्दानी भएका खेलाडीहरु वञ्चित गर्ने गरि तोकिएको शुल्क प्रति कसैले ध्यान दिएको पाइदैन।
ब्याडमिन्टनका लागि खेलाडीलाई कभर्डहल अनिवार्य छ तर जिल्लामा कभर्डहल पर्याप्त नहुनु र भएका कभर्डहलमा पनि सहज पहुँच नहुदा नयाँ खेलाडी उत्पादन हुन सकेका छैनन्। यसका लागि सरकारकै लगानी आवश्यक रहेको बुटवल १२ नयाँगाउँका स्थानिय बासिन्दा क्षेत्रकै उत्कृष्ट ब्याडमिन्टन खेलाडी बिनोद पौडेल। उनले भने– “खेलाडीलाई कभर्डहल अनिवार्य छ, कभर्डहल भएन भने अभ्यास गर्न गाह्रो हुन्छ।” जिल्लामा ब्याडमिन्टन प्रतियोगिता जितेपछि पौडेल १ वर्षसम्म कभर्डहलमा निःशुल्क खेलेपनि पछिल्लो समय उनी नियमित कभर्डहल खेल्न जान छाडेका छन्।
पौडेल र बिश्वास नेपालको जोडी मुख्यमन्त्री कप ब्याडमिन्टन प्रतियोगितामा बिजेता बनेको थियो। ब्याडमिन्टन क्लबहरुले ब्याडमिन्टन प्रशिक्षण चलाएर खेलाडी उत्पादनमा सहयोग गर्नुको साटो महंगो शुल्क उठाएर सिमित ब्यक्तिहरुले शारिरिक अभ्यास गर्ने केन्द्रका रुपमा मात्र कभर्डहरु सञ्चालन गरेको विषयमा नगर खेलकुद समितिले अनुगमन गर्ने बुटवल उपमहानगरपालिका अन्तर्गतको नगर खेलकुद समितिका अध्यक्ष नन्दबहादुर काउचा बताउँछन्।
समितिका अध्यक्ष काउचा ब्याडमिन्टन क्लबहरुले अस्वभाविक शुल्क तोेक्दा खेलाडीहरु बञ्चित हुनुका साथै सिंगो ब्याडमिन्टन खेल प्रभावित भएकोले यसलाई सुधार गर्न समितिले पहल गर्ने बताउछन्। उनले भने–“नगरको खेलकूदको विकासका लागि योजनाबद्ध तरिकाले काम गर्दै छौ, अहिले नगरमा कुन क्षेत्रमा के कस्ता पूर्बाधार निर्माणका काम गर्नुपर्ने छ भनेर योजना बनाउदै छौ त्यसका लागि सबै वडामा पत्राचार गरेका छौ,सबै वडाको अवस्था विश्लेषण गरि योजना बनाएर काम गर्छौ।” -राससबाट