काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा अस्ट्रेलियाका डेभ वाटमोर नियुक्त भएका छन्।
नेपाल क्रिकेट संघ- क्यानले आगामी जनवरी १ तारिखदेखि लागू हुने गरी वाटमोरलाई प्रशिक्षक नियुक्त गरेको हो। यसैगरी रौनकबहादुर मल्ल महाप्रबन्धक, रमेशकुमार न्यौपाने प्रमुख लेखा अधिकृत र विनोद कुमार दास क्रिकेट म्यानेजर नियुक्त भएका छन्।
उनीहरुको नियुक्ति पनि जनवरी १ तारिखदेखि लागू हुने क्यानले जनाएको छ। सन् १९९६ मा श्रीलंकाले एकदिवशीय विश्वकप क्रिकेटको उपाधि जित्दा वाटमोरका टोलीका मुख्य प्रशिक्षक थिए।
वाटमोरले अस्ट्रेलियाका लागि सात टेस्ट र एउटा एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट खेल खेलेका छन्। उनले प्रथम श्रेणी क्रिकेटमा भिक्टोरियाका लागि ६ हजारभन्दा बढी रन जोडेका छन्। उनी आफ्नो खेलाडी जीवनमा दायाँ हाते ब्याटिङ स्पेसलिष्ट थिए।
तत्कालिन डोमिनियन अफ साइलन अर्थात हालको श्रीलंकामा जन्मिएका वाटमोरलाई लिएर उनको परिवार सन् १९६२ मा अस्ट्रेलिया बसाइँ सरेको थियो। उनले सन् २००३ देखि २००७ सम्म बंगलादेशको प्रशिक्षण गरेका थिए। सन् २००५ मा बंगलादेशले पहिलो टेस्ट जित हात पारेको थियो भने त्यही वर्ष शीर्ष वरियताको अस्ट्रेलियालाई हराएर तहल्का मच्चाएको थियो।
सन् २००७ को एकदिवशीय विश्वकप क्रिकेटमा बंगलादेशले शीर्ष वरियताको दक्षिण अफ्रिका र भारतजस्ता टोलीलाई हराएर सुपर ८ को यात्रा तय गरेको थियो। प्रतियोगिताको समापनपछि वाटमोरले राजिनामाको घोषणा गरेका थिए।
सन् २०१० को इन्डियन प्रिमियर लिग-आईपीए क्रिकेट सिजनमा वाटमोरले कोलकाता नाइट राइडर्सलाई प्रशिक्षण गरेका थिए। यसैगरी पाकिस्तान क्रिकेट बोर्डले सन् २०१२ मा वाटमोरलाई दुई वर्षका लागि राष्ट्रिय टोलीको प्रमुख प्रशिक्षक नियुक्त गरेको थियो। त्यसबीचमा उनले पाकिस्तानलाई एसिया कपको उपाधि जिताएका थिए।
सन् २०१७/१८ को रन्जी ट्रफीका लागि केरलाले उनलाई प्रशिक्षक नियुक्त गरेको थियो। पछिल्लोपटक उनी सिंगापुरको मुख्य प्रशिक्षक थिए।
६६ वर्षीय वाटमोरलाई क्यानले एक वर्षका लागि नियुक्त गरेको हो। प्रशिक्षक छनोटमा अन्तिम तीन जनामा परेका भारतका अपूर्व देसाई, स्कटल्यान्डका निल म्याकरोएमध्येबाट वाटमोरलाई छनोट गरिएको हो। यसअघि नेपाली टोलीको मुख्य प्रशिक्षक रहेका पुबुदु दासानायकेले पनि आवेदन दिएपनि अघिल्लो चरणबाटै फालिएका थिए।