सैनामैना- रुपन्देहीको सैनामैना नगरपालिकामा प्रथम सैनामैना खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता शनिबारदेखि सुरु भएको छ। सैनामैना ब्याडमिन्टन क्लवको आयोजनामा “सबैका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने नारा सहित नगरको वडा नम्बर ३ स्थित कर्वड हलमा प्रथम राष्ट्रिय खुल्ला मेन्स डबल तथा भेट्रान ब्याडमिन्टन प्रतियोगिता सुरु भएको हो।
प्रतियोगिताको उद्घाटन गर्दै सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले ब्याडमिन्टन खेलमा वयस्क उमेर समुहका व्यक्तिहरु आकर्षित हुँदै गएकोले यसको लोकप्रियता बढ्दो क्रममा रहेको बताए। उनले लुम्बिनी प्रदेश सरकारसँगै नगरपालिकाले पनि यस खेलप्रति विशेष चासो दिएको उल्लेख गरे। नगर भित्र निर्माण भएको पहिलो कर्वड हलको चर्चा गर्दै नगर प्रमुख कार्कीले यस वर्ष वडा नम्बर ६ मा पनि लुम्बिनी प्रदेशको सहयोगमा व्यवस्थित कर्र्वड हल सम्पन्न गरिने जानकारी दिए ।
नेपाली कांग्रेसका जिल्ला उपसभापति फणिन्द्र प्रसाद शर्माले नगरमा राष्ट्रियस्तरको खेलकुद प्रतियोगिता आयोजना हुनु सैनामैनाकै लागि गौरव र पहिचानको विषय भएको बताए। खेलाडीहरुको अभिरुचिलाई ध्यानमा राखेर नगरपालिकाले सोही अनुसार खेल क्षेत्रका गतिविधि सञ्चालन गर्नुपर्ने उनको भनाइ छ।
रुपन्देही ब्याडमिन्टन संघका उपाध्यक्ष महेन्द्र श्रेष्ठले प्रतियोगिताले स्थानीयस्तरमा रहेका खेलाडीलाई राष्ट्रियस्तरको खेलाडी बनाउन ठूलो भुमिका खेल्ने धारणा राख्दै यस क्षेत्रको पर्यटन व्यवसायमा समेत टेवा पुग्ने बताए। कार्यक्रममा नेकपा सैनामैना इन्चार्ज खुसीराम चौधरीले ब्याडमिन्टन प्रतियोगितामा महिलाहरुलाई पनि प्राथमिकता दिएर सँगसँगै अगाडि बढाउन सुझाव दिदैँ सफलताको कामना व्यक्त गरे।
कांग्रेस नगर सभापति रामप्रसाद अधिकारीले स्थानीयस्तरमा उत्पादन भएका खेलाडीहरुलाई यस प्रतियोगिताले प्रोत्साहन सँगै हौसला प्रदान गर्ने उल्लेख गरे। सैनामैना नगरपालिकालाई खेलको माध्यमबाट राष्ट्रिय, अन्तरराष्ट्रिय जगतमा परिचित बनाउने र पर्यटन प्रवद्र्धन गर्ने, स्वच्छ र निरोगी मानव जनशक्ति उत्पादन गर्ने उद्देश्य सहित प्रतियोगिताको आयोजना गरिएको सैनामैना ब्याडमिन्टन क्लवका अध्यक्ष नन्द बहादुर क्षेत्रीले बताए।
सैनामैना नगरपालिकाको १ करोड ६ लाख, जिल्ला खेलकुद विकास समितिको १० लाख, जिल्ला विकास समितिको १० लाख तथा जनश्रमदानबाट ५ लाख गरी कूल १ करोड ३१ लाखको लागतमा सैनामैना ब्याडमिन्टन कर्वडहल निर्माण गरिएको छ।
उक्त हलमा सुरु भएको राष्ट्रियस्तरको प्रतियोगितामा काठमाडौँ, कास्की, चितवन, मकवानपुर, स्याङ्जा, कास्कीलगायत जिल्लाबाट ५० समूहको सहभागिता रहेको ब्याडमिन्टन प्रतियोगिताका खेल संयोजक धर्म न्यौपानेले जानकारी दिए। २०७६ सालमा स्थापना भएको कर्वडहल चार हजार ३१० स्क्वायर फिटमा फैलिएको छ ।
राष्ट्रिय खुल्ला मेन्स डबलको पुरस्कारमा क्रमश प्रथम रु ५१ हजार, द्वितीय रु ३५ हजार र तृतीयलाई रु २० हजारसहित ट्रफी र प्रमाणपत्रको व्यवस्था गरिएको छ । भेट्रानतर्फ क्रमशः प्रथम रु. ३० हजार, द्वितीय रु २० हजार र तृतीयलाई रु १५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ ।