यूएईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज मंगलबार दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाद खेल्दै छन्। हैदराबाद र दिल्लीबीचको खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि सुरु हुनेछ।
आइपीएलको जारी सिजनमा दिल्लीले सुरुवातका दुबै म्याचमा जित हासिल गरेको छ। हैदराबादले भने लगातार दुई खेलमा हारको सामना गरेको छ। दिल्लीले पहिलो खेलमा किंग्स इलावेन पञ्जाब र दोस्रो म्याचमा चेन्नई सुपर किंग्स (सीएसके)लाई हराएको थियो।
यता हैदराबादले भने रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) र कोलकाता नाइट राइडर्स (केकेआर) विरुद्ध पराजय ब्यहोरेको छ। लगातार दुई म्याचमा बेन्चमा बसेका नेपाली लेगस्पिनर सन्दीप लामिछानेले आजको खेलमा पनि मौका पाउने सम्भावना कम छ।
राम्रो लयमा देखिएको दिल्लीले आज पनि अघिल्लो खेलकै प्लेइङ सेटलाई मैदान उतार्ने सम्भावना छ। विदेशी खेलाडीले लगातार राम्रो प्रदर्शन गर्नुले सन्दीपलाई अन्तिम-११ मा पर्न चुनौती थपिदै गएको छ। पछिल्लो खेलमा दिल्लीले सीएसकेलाई ४४ रनले हराएको थियो।