इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत मंगलबार राति भएको खेलमा राजस्थान विजयी भएको छ। राजस्थान रोयल्स र चेन्नई सुपर किंग्सबिच खेल भएको हो।
यो खेलमा छक्काको वर्षा नै भयो र बाजी राजस्थानले मारेको हो। राजस्थानका सन्जू सामसन, स्टीभ स्मिथ र जोफ्रा आर्चरले समग्रमा १७ छक्का प्रहार गरे।
यस्तै चेन्नई सुपर किंग्सका फाफ डू प्लेसिस, शेन वाट्सन, साम करन र महेन्द्र सिंह धोनीले कुल १६ छक्का प्रहार गरे। यो खेलमा दुवै टिमको तर्फबाट गरी ३३ छक्का प्रहार भयो।
अन्तिम ओभरमा चेन्नईलाई ३८ रन बनाउनु पर्ने थियो। कप्तान धोनीले तीन छक्का प्रहार गरे अन्तिम ओभरमा तर त्यो जितका लागि पर्याप्त भएन। जितका लागि पाएको २१७ को लक्ष्य पछ्याएको चेन्नईले ६ विकेट गुमाएर २०० रन बनाउन सक्यो।
पहिले ब्याटिङ्ग गरेको राजस्थानले ७ विकेटको क्षतिमा २१६ रन बनाएको थियो। उसका लागि सामसनले ९ छक्काको सहयोगमा ७४ तथा स्मिथले चार छक्काको सहयोगमा ६९ रन बनाएका हुन्।