विराट कोहली कप्तानीको रोयल च्यालेन्जर्स बैंग्लोरले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा विजयी सुरुवात गरेको छ। १३ औँ संस्करणको आइपिएल अन्तर्गत सोमबार राति भएको आफ्नो पहिलो खेलमा बैंग्लोरले सनराइजर्स हैदराबादलाई १० रनले पराजित गरेको हो।
विराटको टिमले युजवेन्द्र चहल र नवदीप सैनीको कसिलो बलिङ्गको सहयोगमा हैदराबादमाथि जित निकालेको हो। बैंग्लोरले हैदराबादलाई जितका लागि १६४ रनको लक्ष्य दिएको थियो । हैदराबादले १९ ओभर चार बलमा मात्रै १५३ रन बनाउन सक्यो।
बैंग्लोरका लागि चहलले तीन, शिवम दुबे र सैनीले दुई–दुई विकेट लिए। १६ औँ ओभरको दोस्रो बलसम्म हैदराबाद बलियो देखिएको थियो।
उसले दुई विकेट गुमाएर १२१ रन बनाएको थियो । त्यसपछि चुकेको उसले बाँकी ८ विकेट गुमाउँदा थप ३२ रन मात्रै जोड्न सक्यो।
बैंग्लोरले पाँच विकेट गुमाएर १६३ रन बनाउँदा नायक देवदत्त पडिक्कल बने। आइपिएलमा पहिले खेल खेलका उनले ४२ बलमा ८ चौकाको सहयोगमा ५६ रन बनाए।
झण्डै सात महिनापछि मैदानमा आएका कप्तान विराट कोहलीले मात्रै १४ रन बनाए।