दाङ–लमही नगर विकास समितिको फुटबल मैदान बनाउने योजना थियो। तर, पछि किक्रेट मैदान बनाउने निर्णय भयो। झारसहितको जंगल, ठूला ठूला ढुंगा थिए। त्यो पन्छाउँदै मैदानमा खेलाडी उत्रने थाले। नगर विकास समितिले मैदान बनाउन बजेट विनियोजन गर्दै गयो।
हरेक वर्ष मैदानले स्वरुप फेर्दै गयो। अहिले किक्रेटका ठूला प्रतियोगिता गराउन सक्ने क्षमता यो मैदानले राख्छ। तर, अझैं किक्रेटसँग जोडिएका माथिल्लो निकायले ध्यान नदिँदा यो मैदानको उपयोग भएको छैन।
यहीबीचमा नेपाल–भारत बीच क्रिकेट प्रतियोगिता हुने खबर फैलियो। एउटा टीम पनि भारतबाट आयो। नेपालबाट पनि क्रिकेट टिम बन्यो। दुवै टीम मैदानमा उत्रिए। तर, मैदानमा झार जंगल र ढुंगा मात्रै थिए।
खेलाडी आफैले ढुंगा, झार जंगल पन्छ्याएर खेल्न थाले। दर्शक पनि भुईमै बसेर क्रिकेटको आनन्द लिन थाले। यसैगरी विभिन्न सानातिना प्रतियोगिता आयोजना गर्न लमहीको क्रिकेट मैदान अघि बढ्यो।
अहिले क्रिकेट मैदानको मुहार फेरिन थालेको छ। पूर्वाधार निर्माणको काम अघि बढेको छ। क्रिकेट मैदानको निर्माण कार्य सकिएपछि अहिले मैदानसँग जोडिएका अन्य पूर्वाधारमा लगानी गर्न थालिएको छ।
क्रिकेट मैदानको पूर्वाधार तयार हुदै गर्दा खेलाडी समेत खुसी भएका छन्। ‘यो मैदानसँग हाम्रो सपना जोडिएको छ’-क्रिकेट खेलाडी अमित तामाङले भने–‘यहाँ ठूला खेल हुदा हाम्रो मान बढ्छ।’ यो मैदानमा नेपाल–भारतका क्लबबीचमा प्रतियोगिता, प्रथम मेयर कप, आठौं राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता, दोस्रो मेयर कप क्रिकेट प्रतियोगिता भएका छन्। अरु साना ठूला प्रतियोगिता पनि भइरहन्छन। अहिले कोरोना भाइरस संक्रमण फैलिरहेकाले प्रतियोगिता आयोजना गर्न सकिएको छैन।
राष्ट्रिय खेलकुद परिषदमार्फत राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता आयोजना गर्दा मैदानमा दुई वटा पीच बनाउने काम भएको थियो। मैदानमा दुवो लगाउने काम उतिबेलै भयो। नगर विकास समितिको तीन करोड १९ लाख १३ हजारको लागतमा बढीमा एक हजार दर्शक अटाउन सक्ने प्याराफिट बनाउने काम चलिरहेको छ।
‘नगर विकास समितिको टाउन प्लानिङ क्षेत्रको मैदान हो, यसको वृद्धि विकासमा सुरुका दिन देखि नै नगरविकास समितिले लगानी लगाउदै आएको छ’-नगर विकास समितिका सव–ईञ्जिनियर तुलसीराम अर्यालले भने–‘अहिले प्याराफिट बनाउने काम चलिरहेको छ, यो मैदानले अब राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना गर्ने क्षमता राख्छ।’
विगत तीन वर्षको अवधिमा मैदानमा ६ करोड बढीको लगानी लागेको छ। लमही नगर विकास समिति, राष्ट्रिय खेलकुद परिषद, प्रदेश ५ सरकार र लमही नगरपालिकाको संयुक्त लगानीमा मैदानमा पूर्वाधार बनाउने काम भएको हो।
अझैं मैदानमा डे/नाइट प्रतियोगिता आयोजना गर्नको लागि लाईटको आवश्यकता रहेको देउखुरी क्रिकेट क्लबका सदस्य प्रेम पुलामीले बताए। ‘हामी ठूलो प्रतियोगिताको प्रतिक्षामा छौं, अब यहाँ लाइट, लोडर र घाँस काट्ने ठूलो मेसिनको आवश्यकता छ। यी काम सम्पन्न भए भने ठूलो खेल आयोजना गर्न सकिन्छ।’
दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदिप मजगैयाँले समयानकुल डीपीआर परिवर्तन गर्न सुझाव दिए। ‘यो मैदानलाई क्रिकेट संघ मार्फत लैजान सक्ने हो भने यसको विकास हुन्छ’-उनले भने–‘दश वर्षअघि र दश वर्ष पछिको अवस्थामा धेरै परिवर्तन भएको छ। त्यही भएर डिपीआरलाई परिवर्तन गर्न आवश्यक छ ।’
यो मैदानलाई नेपाल क्रिकेट संघ मातहतमा लैजान उनले सुझाव दिए। ‘अन्तर्राष्ट्रिय मैदानको रुपमा अघि बढाउने हामी सबैको चाहना हो। त्यही भएर यो मैदानलाई नेपाल क्रिकेट संघ र राष्ट्रिय खेलकुद परिषद मार्फत अघि बढाउनु पर्ने मेरो सुझाव छ’-उनले भने।