काठमाडौँ । नेपालको एसीसी टि–२० प्रिमियर कप क्रिकेटको यात्रा सेमिफाइनलमा रोकिएको छ । निकै खराब ब्याटिङ गरेको नेपाललाई शुक्रबार ओमानमा भइरहेको प्रतियोगिताको सेमिफाइनलमा यूएईले ६ विकेटले पराजित गरेको हो । योसँगै नेपालको लगातार दोस्रो पटक एसिया कप खेल्ने सपना समाप्त भएको छ । प्रिमियर कपको विजेताले अर्को वर्ष एसिया कपमा खेल्न पाउने प्रावधान छ । गत वर्ष नेपालले काठमाडौंमा यूएईलाई नै फाइनलमा पराजित गरि एकदिवसीय संरचनाको एसिया कप खेलेको थियो ।
ओमानको अल अमरात क्रिकेट मैदानमा भएको शुक्रबारको खेलमा जितका लागि नेपालले प्रस्तुत गरेको एक सय २० रनको लक्ष्य यूएईले १७ दशमलव दुई ओभरमा चार विकेटको क्षतिमा पूरा ग¥यो । उसका लागि अलिसान शराफूले अर्धशतकीय पारी खेले । उनले ४१ बलमा दुई छक्का र चार चौकाको सहयोगमा ५५ रन बनाए ।
साथै विष्णु सुकुमरनले २८, सइद हैदरले १४, मुहम्मद वासिमले ११, आसिफ खानले १० रनको योगदान दिए । नेपालका लागि गुलसन झाले दुई तथा सोमपाल कामी र ललित राजवंशीले एक÷एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालको ब्याटिङ कमजोर रह्यो । नेपालले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा जम्मा एक सय १९ बनाउन सक्यो । पारीको पहिलो बलमा ओपनर कुशल भुर्तेललाई गुमाएको नेपालले दोस्रो विकेटका रुपमा ओपनर आशिफ शेखलाई व्यक्तिगत आठ रनमा गुमायो ।
त्यसपछि सन्दीप जोराले अर्धशतकीय पारी खेल्दै खेल अगाडि बढाउने प्रयास गर पनि अन्य ब्याटरले साथ दिन सकेनन् । जोराले ४० बलमा दुई छक्का र चार चौकाको सहयोगमा ५० रन बनाए । गुलसन झाले २० रन र करन केसीले १७ रन बनाए भने अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
कप्तान रोहितकुमार पौडेल १८ बलमा जम्मा पाँच रन बनाएर आउट भए । कुशल मल्लले तीन, दीपेन्द्र सिंह ऐरीले पाँच, सोमपाल कामीले दुई रन मात्रै बनाउन सके । अविनास बोहोराले एक र ललित राजवंशीले दुई रन बनाए ।
नेपाललाई सस्तैमा समेट्ने क्रममा यूएईका लागि जुनैद सिद्दिकी, अली नासिर र बासिल हमिदले दुई÷दुई विकेट लिए भने ओमिद साफी रहमान, आयान अफजल खान र मुहम्मद फरुकले एक÷एक विकेट लिए ।
नेपाल समूह ‘ए’ को बिजेता रुपमा सेमिफाइलमा पुगेको हो भने युएई समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको थियो । समूह चरणको खेलमा नेपालले सबै चार खेलमा जित हात पारेको थियो । नेपालले मलेसियालाई पाँच विकेट, कतारलाई ३२ रन, हङकङलाई आठ विकेट र साउदी अरेबियालाई छ विकेटले पराजित गरेको थियो । त्यसैगरी युएईले कुवेतलाई सात विकेट, बहराइनलाई ३७ र कम्वोडियालाई नौ विकेटले हराएको थियो भने ओमानसँग नौ विकेटको पराजित भएको थियो ।