काठमाडौं । एक दिवसीय क्रिकेटमा नेपालले क्यानडामाथि ७ रनको रोमाञ्चक जित हात पारेको छ । जितका लागि २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले ४७।५ ओभरमा २१७ रनमा अल आउट भयो ।
नेपाललाई जिताउन रोहितकुमार पौडेलले ४ विकेट लिए । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा अल आउट हुँदै २२४ रन बनाएको थियो ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले ६२ रन बनाए । ५८ बल खेलेका उनले ९ चौका र १ छक्का हानेका थिए ।
आरिफ शेखले ३८ रन बनाए । सोमपाल कामी २७ रनमा आउट भए । क्यानडाका उदय भागवानले ३ तथा इश्वरजित सोही र साद बिन जाफरले समान २ विकेट लिए ।