बुटवल । बुटवलमा विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्न बुटवल उपमहानगरपालिकाले अन्तर विद्यालयस्तरीय बुटवल मेयर कप फुटबल प्रतियोगिता गर्ने भएको छ । यही माघ २५ देखि २९ गतेसम्म बुटवल–११ स्थित फिफा टेक्निकल सेन्टर र बुटवल–१३ स्थित जबई खेल मैदानमा प्रतियोगिता हुन लागेको हो ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले उक्त प्रतियोगितामा नगरभित्रका सामुदायिकतर्फ १५ र संस्थागततर्फ १३ गरी २८ वटा विद्यालयको सहभागीता रहने जानकारी दिनुभयो । प्रतियोगिताको विजेताले नगद १ लाख, द्वितीयले ६० हजार र सेमिफाइनलमा पुग्ने दुई समूहले १८/१८ हजार नगद राशिसहित शिल्ड, कप, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तैगरी उत्कृष्ट खेलाडीलाई १५ हजार नगद राशिले सम्मान गरिने छ । उत्कृष्ट गोल रक्षक, मिड फिल्डर, डिफेण्डर, उच्चतम गोलकर्ता खेलाडीलाई जनही ८ हजार नगद राशिले सम्मान गरिने संयोजक पियाले जानकारी दिनुभयो । खेलाडीहरुका लागि खेल अवधिभर १ लाख रुपैयाँसम्मको दुर्घटना स्वास्थ्य बीमासमेत गरिएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै नगर प्रमुख खेलराज पाण्डेयले बुटवललाई खेलकुदका क्षेत्रमा अग्रणी बनाउनका लागि विद्यालयस्तरदेखि भेट्रानसम्मका विभिन्न प्रतियोगिताहरु आयोजना गर्ने र खेलमैदानहरुको संरक्षण र मर्मतको काम गरिरहेको बताउनुभयो । उहाँले आगामी दिनमा अरु धेरै विधामा खेल प्रतियोगिता आयोजना गर्ने र खेलाडी तथा प्रशिक्षक उत्पादनमा समेत विशेष जोड दिने बताउनुभयो । विद्यालय खेलाडी उत्पादन गर्ने आधारस्तम्भ भएकाले नगरले खेलकुदलाई प्राथमिकता दिएर बजेट बिनियोजन गरेको बताउनुभयो ।
प्रतियोगितामा २०६० साल माघ १९ गते भन्दा अघि जन्मिएका वा २० वर्ष ननाघेका विद्यार्थीमात्रै सहभागी हुने पाउने नगर खेलकुद विकास समितिका लालहरि पाण्डेले जानकारी दिनुभयो । प्रतियोगिताको उद्घाटन समारोहमा पिटी प्रदर्शन गरिने र प्रथम हुने समूहलाई नगद १० हजार, द्वितीयलाई ५ अवार र तृतीय हुने समूहलाई ३ हजार रुपैयाँ प्रदान गरिने उहाँले बताउनुभयो ।