बुटवल। बुटवलमा प्रथम प्रदेशस्तरीय मेयर कप खुल्ला ब्याडमिन्टन प्रतियोगिताको तयारी पूरा भएको छ । न्यू लुम्बिनी ब्याडमिन्टन क्लब बुटवलले पुस २० र २१ गते पुरुष डबल र भेट्रान्स डबल समूहमा प्रदेशस्तरीय प्रतियोगिता गर्न लागेको हो ।
बुटवल–७ शिवनगर सामुदायिक वन परिसरको कभर्ड हलमा हुने प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाबाट गरी करिब १०० टिममा दुई सय खेलाडीले सहभागिता जनाउने र मंगलबारसम्म ५० टिमले नाम दर्ता गराइसकेका क्लबका अध्यक्ष बोनिन पियाले जानकारी दिनुभयो ।
प्रतियोगिताको पुरुष डबलतर्फ विजेता टिमले ५१ हजार १११,दोस्रोले ३५ हजार १११ र तेस्रोले २१ हजार ११ रुपैयां तथा भेट्रान्स डबलतर्फ विजेता टिमले ३१ हजार १११, दोस्रोले २१ हजार १११ र तेस्रोले १५ हजार १११ रुपैयां नगद पुरस्कार पाउने अध्यक्ष पियाले जानकारी दिनुभयो । प्रतियोगितालाई स्वच्छ र निष्पक्ष बनाउन बुटवल बाहिरका रेफ्री प्रमोद सिंह पहाडीलाई ल्याइने क्लबले जनाएको छ ।
पत्रकार सम्मेलनमा प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले राष्ट्रिय प्रतियोगितामा हुने नियम अनुसार खेलाडी र टिम छनोट गरी खेल खेलाउन सुझाव दिनुभयो । १३ लाख रुपैयाँ खर्च अनुमान गरिएको प्रतियोगिताका लागि बुटवल उपमहानगरपालिकाले ८ लाख रुपैयाँ वजेट दिने समझदारी भएको प्रतियोगिताका प्रचार प्रसार संयोजक यादव भण्डारीले बताउनुभयो ।
प्रतियोगितामा भाग लिने टिमले पुरुष डबलतर्फ ३ हजार र भेट्रान्स तर्फ २५ सय रुपैयाँ दर्ता शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको क्लबका कोषाध्यक्ष बासुदेव श्रेष्ठले बताउनुभयो । प्रतियोगितालाई व्यवस्थित र मर्यादित ढंगले सम्पन्न गर्न विभिन्न उपसमितिहरु गठन गरिएको क्लबले जनाएको छ ।