काठमाडौँ । भारतमा जारी १४ औँ संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले जित निकालेको छ ।
बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा मङ्गलवार भएको खेलमा नेपालले पाकिस्तानलाई १–० गोल अन्तरले हराएको हो । नेपालको जितमा आशिष चौधरीले निर्णायक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा नेपालले निर्णायक गोल गरेको थियो । खेलको ८० औँ मिनेटमा आशिषले पेनाल्टी क्षेत्र बाहिरबाट लाकेन लिम्बुको पासमा उत्कृष्ट गोल गरे ।
दोस्रो हाफमा मैदान प्रवेश गरेका आशिषको यो नेपालका लागि डेब्यु गोल हो । आशिषको गोल बाहेक नेपालले अन्य थुप्रै गोलको अवसर खेर फालेको थियो । पाकिस्तानले पनि केही अवसरलाई सदुपयोग गर्न सकेन ।
यस जितसँगै नेपालले प्रतियोगिताको सुखद अन्त्य गरेको छ । समूह ‘ए’ मा रहेको नेपालको पहिलो जित हो । तर, नेपाल यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेको छ । नेपालले ३ खेलमा ३ अङ्क जोडेको छ । नेपाल तेस्रो स्थानमा रह्यो ।
पाकिस्तानले भने अङ्क विहीन रहँदै प्रतियोगिताको अन्त्य गरेको छ । पाकिस्तान पुछारमा रह्यो । पहिलो खेलमा नेपाल कुवेतसँग र दोस्रो खेलमा भारतसँग पराजित भएको थियो । पाकिस्तान भने पहिलो खेलमा भारत र दोस्रो खेलमा कुवेतसँग पराजित भएको थियो ।
यस समूहबाट कुवेत र भारत सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । कुवेत ६ अङ्क जोडेर शीर्ष र ६ अङ्क जोडेको भारत दोस्रो स्थानमा रहेको छ । कुवेत र भारत आज राति भिड्ने छन् । दुई टोलीबिचको खेलपछि समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ ।