बुटवल । एभरेष्ट ईन प्रथम प्रेस चौतारी लुम्बिनी प्रदेशस्तरीय फुटसल प्रतियोगिता २०८० को उपाधि दाङले जितेको छ ।
विहीबार भएको फाइनल खेलमा दाङले बाँकेलाई ६–२ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । उपाधिसंगै दाङले नगद रु ३० हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
उपविजेता बाँकेले नगद रु १५ हजार, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो । प्रतियोगितामा बाँकेका कुमार श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै नगद ३ हजार, प्रमाणपत्र, कपबाट पुरस्कार हुनुभयो । यसैगरी उत्कृष्ट गोलकिपर बाँकेकै केशव राना , सर्वाधिक गोलकर्ता दाङका किरण नेपाली, उत्कृष्ट डिफेन्डर नवलपरासीका टेक हरिजन, रुपन्देहीका रतन कंडेल उत्कृष्ट फरवार्डबाट पुरस्कृत हुनुभएको प्रतियोगीताका संयोजक स्वस्तिक श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतियोगिताकै अवसरमा नेकपा एमाले र प्रेस चौतारी तथा पत्रकार महिलाहरुका बीचमा समेत मैत्रीपूर्ण फुटसल खेलाइएको थियो । एमाले र प्रेस चौतारी नेपालको केन्द्रीय टिमबीच भएको मैत्रीपूर्ण खेलमा एमाले विजयी भएको थियो ।
यस्तै प्रेस चौतारी रुपन्देही र प्रेस चौतारी कपिलवस्तुका पत्रकार महिलका बीचमा भएको मैत्रीपूर्ण प्रतिष्पर्धामा रुपन्देहीको टीम विजयी भएको थियो ।
योगिकुटीस्थित लुम्बिनी फुटसल एरिनामा एक समारोहका बीच नेकपा एमालेका उपमहासचिव तथा प्रचारविभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो ।
त्यस अवसरमा बोल्दै उहाँले खेलकूद मानिसको स्वास्थ्यको लागि पनि अति जरुरी रहेको भन्दै यस्ता कार्यक्रमलाई आपसी मेलमिलाप र एकताको भावनालाई उजागर गर्ने बताउनुभयो ।
प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले संगनलाई क्रियाशील बनाउन यस्ता कार्यक्रम सबै प्रदेशमा आयोजना हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा महासचिव हिरामान लामा, उपाध्यक्षद्वय राजेश राई र सबिन प्रियासन, केन्द्रीय सचिव प्रदिप आचार्य, प्रदेश अध्यक्ष शोभाखर पोखरेल, महासचिव निरु गौतम, केन्द्रीय सदस्य अमृत गिरि, प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले प्रदेशस्तरीय फुटसल आयोजना गरेर प्रेस चौतारी रुपन्देहीले आपसी अन्तरसम्बन्धलाई स्थापित गरेको बताउनुभयो ।
कार्यक्रममा जिल्ला अध्यक्ष लक्ष्मण पौडेलले खेलकुदमार्फत पत्रकारहरुलाई भातृत्व विकासमा टेवा पु¥याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । प्रेस चौतारी रुपन्देहीका उपाध्यक्ष भगवति पाण्डे, सचिव केशव भण्डारीलगायतले प्रतियोगिता ऐतिहासिकरुपमा सफल भएको बताउनुभयो ।