बुटवल । प्रेस चौतारी नेपाल रुपन्देहीको आयोजना तथा प्रेस चौतारी लुम्बनी प्रदेश समितिको संमन्वयमा यही वेशाख २१ गते हुने लुम्बिनी प्रदेशस्तरीय फुटसल प्रतियोगिताको तयारी पूरा भएको छ ।
प्रेस चौतारीले लुम्बिनी प्रदेश अन्तर्गतका जिल्ला कमिटीहरुसँग अन्तर सम्बन्ध स्थापित गर्ने उद्देश्यले फुटसल प्रतियोगिताको आयोजना गरिएको हो । तिलोत्तमा–३ योगीकुटी शान्तिचोकस्थित लुम्बिनी फुटसल एरिनामा हुने प्रतियोगिताको उद्घाटन एमाले उपमहासचिव एवं केन्द्रीय प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले गर्नुहुने छ ।
प्रतियोगिता उदघाटन समारोहमा प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, उपाध्यक्ष सविन प्रियासन, महासचिव हिरामान लामा, सचिव प्रदेश इञ्चार्ज तथा प्रदिप आचार्यलगायत सहभागी हुनुहुनेछ ।
प्रतियोगितामा लुम्बिनी प्रदेशका ११ जिल्लाबाट प्रेस चौतारीका सदस्य पत्रकारहरुले भाग लिने प्रेस चौतारी नेपाल रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेलले जानकारी दिनुभयो । प्रतियोगिताको मुख्य प्रायोजक होटल एभरेष्ट इन बुटवल रहेको छ ।
प्रतियोगिताका लागि स्वस्तिक श्रेष्ठको संयोजकत्वमा आवश्यक तयारीको काम अगाडि बढाइएको छ । प्रतियोगितामा प्रथम र द्वितीय हुने टिमलाई उचित पुरस्कारको व्यवस्था गरिएको संयोजक श्रेष्ठले जानकारी दिए । प्रेस चौतारी रुपन्देहीले पहिलोपल्ट फुटसल प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा विधागत पुरस्कारका साथै शिल्ड, मेडल र प्रमाणपत्र समेत प्रदान गरिने छ ।
प्रतियोगिताको अघिल्लो दिन वैशाख २० गते प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश समितिको आयोजना तथा प्रेस चौतारी रुपन्देहीको समन्वयमा सांगठनिक प्रतिवेदन लेखन तालिमको समेत आयोजना गरिएको छ । तालिममा प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष राजेश राईले प्रशिक्षण दिनुहुने छ ।