रुपन्देही । एम.जि.के अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपालले १६ स्वर्ण पदक जित्दै प्रथम भएको छ ।
जापान गोजुरियो कराते डो मिसन संघले रुपन्देहीको शंकरपुरमा आयोजना गरेको दोस्रो संस्करणको एम.जि.के अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपालले २४ रजत र ३४ कास्य पदक प्राप्त गरेको छ ।
प्रतियोगितामा ७ स्वर्ण, १ रजत र ३ कास्य पदक सहित भुटान दोस्रो भएको छ भने भारतले ५ स्वर्ण, ४ रजत र ७ कास्य पदकमा चित्त बुझाएको छ ।
‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागी खेलकुद’ भन्ने नाराका साथ आयोजना गरिएको प्रतियोगिताको पहिलो दिन कुमुतेतर्फ गरी ७ स्वर्णको छिनोफानो हुँदा नेपालले ६ स्वर्ण पदक जितेको थियो । प्रतियोगिताको दास्रो दिन नेपालले थप १० स्वर्ण पदक जितेको हो ।
प्रतियोगिताका विजेता खेलाडीलाई तिलोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वरदेवी चौधरीले पदक प्रदान गर्नुभएको थियो । उहाँले पछिल्लो समयमा नेपाली खेलाडी सबै खेलमा अब्बल हुँदै गएको बताउनुभयो ।
प्रतियोगितामा नेपाली खेलाडीहरुले सानदार प्रस्तुती गर्दै देशको नाम राख्न सफल भएको कराते डो मिसन संघका प्रमुख प्रशिक्षक काजी रानाले बताउनुभयो ।
प्रतियोगितामा पुरुष २५, २७, ३०, ३५, ४०, ४५, ५०, ५५, ६०, ६८ र ७५ केजीमूनि तौलसमूह तथा महिलाका लागि २५, ३०, ३५,४०, ४५, ५०, ५५, ६१ र ६८ केजीमूनि तौल समूहमा र कातातर्फ महिला र पुरुष आठ र नौ वर्ष तथा १० देखि १३ वर्ष उमेर समूहमा प्रतिस्पर्धा भएको थियो ।
दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा नेपाल, भारत र भुटानका गरी करीब दुई सय सय खेलाडी सहभागी भएको आयोजक संस्था जापान गोजुरियो मिसन डो संघले जनाएको छ ।