रुपन्देही । जापान गोजुरियो कराते डो मिसन संघको आयोजनामा दोस्रो संस्करणको एम.जि.के अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप रुपन्देहीमा सुरु भएको छ ।
‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागी खेलकुद’ भन्ने नाराका साथ शंकरपुरमा सुरु भएको प्रतियोगिताको पहिलो दिन कुमुतेतर्फ ७ स्वर्णको छिनोफानो भएको छ । कुमुतेतर्फ पुरुषमा २ र महिलामा ५ स्वर्णको छिनोफानो भएको हो । जसमा नेपालले ६ स्वर्ण हात पारेको छ । त्यस्तै भारतले एक स्वर्ण र भुटानले एक रजत पदक जितेको छ ।
शंकरपुरस्थित गाउँले ससुराली होटलको हलमा आयोजित प्रतियोगितामा महिलातर्फ २५, ३०, ३५, ६० र ४५ केजीमूनि तौल समूह र पुरुष ३० र ४० केजमूनि तौलसमूहमा प्रतिस्पर्धा भएको थियो । जसमा पुरुष ३५ केजमूनि तौलसमूहमा नेपालका नेपालका सुजन भण्डारीले स्वर्ण हात पारी नेपालका लागि खाता खोल्नुभएको आयोजक संस्थाका उमेश थापाले जानकारी दिनुभयो ।
प्रतियोगितामा पुरुष २५, २७, ३०, ३५, ४०, ४५, ५०, ५५, ६०, ६८ र ७५ केजीमूनि तौलसमूह तथा महिलाका लागि २५, ३०, ३५,४०, ४५, ५०, ५५, ६१ र ६८ केजीमूनि तौल समूहमा प्रतिस्पर्धा भइरहेको छ । कातातर्फ महिला र पुरुष आठ र नौ वर्ष तथा १० देखि १३ वर्ष उमेर समूहमा प्रतिस्पर्धा हुने आयोजक संस्था जापान गोजुरियो मिसन डो संघका प्रमुख प्रशिक्षक काजी रानाले जानकारी दिनुभयो ।
यसअघि प्रतियोगिताको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले खेलकुदको विकास र विस्तारलाई अझै प्राथमिकतामा दिनुपर्ने बताउनुभयो । पछिल्लो समय खेलप्रति आम नागरिकको चासो बढेको जनाउँदै उहाँले खेलाडिलाई आर्थिक आत्मनिर्भर हुन र युवालाई कुलतबाट जोगाउन खेलकुदको विकास अपरिहार्य रहेकामा जोड दिनुभयो ।
उपप्रमुख जगेश्वरीदेवी चौधरीले खेलकुद व्यक्तिको स्वास्थ्यसँग जोडिएकाले यसको विकासमा नगरपालिका प्रतिवद्ध रहेको बताउनुभयो ।
प्रतियोगिता उद्घाटन कार्यक्रममा लुम्बिनी खेलकुद परिषद सदस्य जयप्रकाश भट्टराई, जापान गोजुरियो कराते डो मिसन संघका प्रमुख सल्लाहकार भरत केसी, सल्लाहकार भरत पोखरेल, भारत नेपाल मैत्री समाजका अध्यक्ष अनिल गुप्ता, खेमेन्द्र राना, गिरी पुन, सतिश चौधरी लगायतले खेलाडीहरुलाई शुभकामना दिनुभएको थियो ।
दुई दिनसम्म हुने प्रतियोगितामा नेपाल, भारत र भुटानका गरी करीब दुई सय सय खेलाडी सहभागी रहेको आयोजक संस्था जापान गोजुरियो मिसन डो संघका प्रमुख प्रशिक्षक काजी रानाले जानकारी दिनुभयो ।
प्रतियोगिता सुरु हुनपूर्व स्थानीय टोल विकास समिति, आमा समूह र खेलाडी सहित विभिन्न झाँकी सहितको र्याली निकालिएको थियो ।