बुटवल । जिल्ला फुटबल संघ रुपन्देहीको आयोजनामा जारी २२ औं संस्करणको तिलोत्तमा गोल्ड कपको आइतबार जित दर्ता गर्दै थ्री स्टार फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । थ्री स्टारले हिमालयन शेर्पा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै अघिल्लो चरण प्रवेश गरेको हो ।
जितका लागि जर्सी नम्बर १८ का दिपेश गुरुङले दोस्रो हाफको ३८ औं मिनेटमा गरेको उत्कृष्ट गोलनै निर्णायक बन्यो । बुटवलको देविनगर स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा भएको प्रतियोगिता अन्तरगत खेलको पहिलो हाफमा दुबै टिमबाट गोल रहित बराबरी रहेको थियो । पहिलो हाफमा थ्री स्टारमाथि हाबी बनेको हिमालयन शेर्पाले आधा दर्जन बढी गोलको मौका सिर्जना गर्न सके पनि बललाई जाति चुमाउन सकेन ।
भोलि सोमबारको खेल विभागीय टोली नेपाल शसस्त्र प्रहरी (एपीएफ) र फ्रेण्ड्स क्लब बीच दिउसो साढे ३ बजे हुने छ । दुई विभागीयसहित ८ टिम सहभागी प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार पाउने संघले जनाएको छ । गोल्डकपको उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ ।