बुटवल । २२औं तिलोत्तमा गोल्डकपको खेल तालिका सार्वजनिक भएको छ । रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा चैत ४ गतेदेखि सुरु हुने प्रतियोगिताको खेल तालिका अनुसार उद्घाटन खेलमा रुपन्देही ११ र सुदूरपश्चिम ११ बीच प्रतिस्पर्धा हुने छ ।
दुई विभागीयसहित ८ टिमले भाग लिएको प्रतियोगिताको विजेताले रु ११ लाख ११ हजार एक सय ११ नगद पुरस्कार पाउने छ ।
चैत ५ गते हिमालय शेर्पा र थ्री स्टार, ६ गते एपीएफ क्लब र फ्रेण्ड्स क्लब, ७ गते मनाङ मर्स्याङदी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने रुपन्देही जिल्ला फुटबल संघका महासचिव हिमाल गौचनले जानकारी दिनुभयो ।
यस्तै ८ गते रुपन्देही ११ र सुदूरपश्चिमबीचको विजेता तथा हिमालय शेर्पा र थ्रीस्टारको विजेताबीच पहिलो सेमिफाइनल हुने छ भने अन्तिम सेमिफाइनल ९ गते एपीएफ र फ्रेण्ड्सबीचको विजेता तथा मनाङ मर्स्याङ्दी र पुलिसको विजेताबीच हुने छ ।
गोल्डकपको उपविजेताले रु ५ लाख ५५ हजार ५ सय ५५ पुरस्कार पाउने छ । सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल पुरस्कार पाउने छन् ।उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचले जनही रु ३० हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने छन् ।
चैत ११ गते गोल्डकपको फाइनल प्रतिस्पर्धा हुने छ ।