काठमाडौँ । आइसिसी यू–१९ विश्वकप एसिया छनोट अन्तर्गतको अन्तिम खेलमा युएईलाई हराउँदै नेपाल विश्वकपमा पुगेको छ ।
निर्णायक खेलमा युएईलाई ७ रनले हराउँदै नेपाल विश्वकपमा पुगेको छ । अजमानको इडन ग्रार्डेन ओभलमा नेपालले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको युएईले ४८ ओभरमा अलआउट हुँदै १ सय ८४ रन मात्र बनायो ।
नेपालका लागि दिपेश कँडेलले ५ तथा सुवास भण्डारी र हेमन्त धामीले समान २÷२ विकेट लिए । २०१६ को विश्वकपपछि पहिलो पटक नेपाल विश्वकपमा छनोट भएको हो ।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ४८ ओभर ५ बलमा अलआउट हँुदै १ सय ९१ रन बनायो ।
नेपालका कप्तान देव खनालले ५१ रनको अर्धशतकीय ईनिङ खेले । विशाल विक्रम केसीले ३८ रन बनाए । उत्तम थापा ३६ रन बनाएर आउट भए । ६ ओभर १ बलमा ३ विकेट गुमाइसकेको नेपालका लागि थापा र कप्तान खनालले चौथो विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए । दिपेश कँडेलले १५ तथा हेमन्त धामीले १३ रन बनाए । ओपनर अर्जुन कुमाल ३ तथा आकाश त्रिपाटी ९ रनमा आउट भएका छन् ।
युएईका लागि धुव्र पराशरले ३ तथा हरिस शेठ्ठी र आयान खानले समान २/२ विकेट लिए । हर्शित शेठ र अम्मर बदामीले समान १/१ विकेट लिएका छन् ।
यो जितसँगै नेपालले २०२४ मा श्रीलङ्कामा आयोजना हुने यू–१९ पुरुष विश्वकपमा सहभागिता जनाउने भएको छ ।