काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत घरेलु मैदानमा भइरहेको शृखंलाको अन्तिम खेलमा नेपालले च्याम्पियन बनिसकेको स्कटल्याण्डलाई २१२ रनमा अलआउट गरेको छ ।
नेपालका कप्तान रोहित पौडेलले लगातार चौथो खेलमा पनि टस जितेपछि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ४६.१ ओभरमा सबै १० विकेट गुमाएर २१२ रन बनाएको हो ।
स्कटल्याण्डका लागि जर्ज मुन्सेले सर्वाधिक ६० रन बनाए । म्याथ्यु क्रसले ४२ र ब्रान्डन म्याकुलेनले ३१ रन जोडे । काएल कोएत्जर र क्रिस म्याब्राइजले समान २२ रन बनाए ।
नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । करण केसीले ३ तथा ललित राजवंशी र कुशल मल्लले समान १ विकेट लिए ।
स्कटल्यान्डको लिग टु सिरिजमा यो अन्तिम खेल हो। नेपाललगातार चौथो जित हात पार्दै घरेलु भूमिमा शतप्रतिशत नतिजा निकाल्ने लक्ष्यमा छ । यसअघि पहिलो खेलमा नेपालले स्टकल्यान्डलाई ३ विकेटले पराजित गरेको थियो ।