काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने थुनामुक्त हुनुभएको छ । जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालले सन्दीप थुनामुक्त भएको जानकारी दिनुभयो ।
उच्च अदालत पाटनले बलात्कार आरोप लागेका निलम्बित कप्तान सन्दीपलाई बिहीबार २० लाख धरौटी बुझाएर थुनामुक्त गर्न आदेश दिएको हो । सोही आदेशअनुसार सन्दीपले आज (शुक्रबार) दिउँसो २० लाख धरौटी बुझाएसँगै थुनामुक्त हुनुभएको जानकारी सूचना अधिकारी दाहालले दिनुभयो । थुनामुक्त गर्न केन्द्रीय कारागारबाट सन्दीपलाई जिल्ला अदालत काठमाडौं लगिएको थियो ।
हिजो उच्च अदालत पाटनका न्यायाधीशद्वय रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले सन्दीपलाई धरौटीमा थुनामुक्त गर्न आदेश दिएको थियो । थुनामुक्त भएका सन्दीपले अब काठमाडौं उपत्यकाबाहिर जाँदा जिल्ला प्रहरी कार्यालय काठमाडौंको अनुमति लिनुपर्नेछ । साथै पीडित परिवारलाई कुनै पनि माध्यमबाट सम्पर्क गर्न, डर, त्रास वा धम्की दिन नपाउने गरी थुनामुक्त गरिएको हो ।