बुटवल । रेडियो मुक्ति महिला फुटसल प्रतियोगिता २०७९ को उपाधि सञ्चारिका समूह रुपन्देहीले हात पारेको छ ।
शुक्रबार भएको फाइनल खेलमा सिद्धबाबा मन्दिर विकास समिति तिनाउ–३, पाल्पालाई ३–शुन्य गोल अन्तरले पराजित गर्दै पत्रकार महिलाको साझा संस्था सञ्चारिका समूहले उपाधि हात पारेको हो ।
उपाधिसँगै सञ्चारिका नगद रु १२ हजार ५ सय, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ भने उपविजेता सिद्धबाबा मन्दिर विकास समितिको टिम नगद रु ६ हजार ५ सय, कप, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा सञ्चारिका समूहका टिम क्याप्टेन निरा गौतम (निरु) सर्वोत्कृत खेलाडी घोषित हुँदै पुरस्कृत हुनुभयो ।
यसैगरी सञ्चारिकाकै उषाकिरण पन्थ उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता शंकरनगर खानेपानी तथा सरसफाई संस्थाकी पार्वती खत्री, अनुशासित खेलाडी सिद्धबाबाकी दुर्गा थापा र जेष्ठ महिलाबाट बुटवल उपमहानगरपालिकाकी कोपिला ज्ञवाली पुरस्कृत हुनुभएको थियो ।
सचेत नारी, सचेत परिवार : हरेक क्षेत्रमा समान अधिकार नारासहित स्थापना भएको रेडियो मुक्ति ९५ थोप्लो ५ को स्थापना दिवसको अवसरमा शुक्रबार मोनालिसा फुटसल मैदानमा भएको फाईनल खेलमा सञ्चारिकाको जितमा एलेक्स पाण्डेले २ तथा निरु गौतमले १ गोल गर्नुभएको थियो ।
विजेता तथा उपविजेता समूहलाई उपमहानगरपालिकाका उपप्रमुख सावित्रा अर्याल, रेडियोका अध्यक्ष खेमकुमारी पोखरेलले पुरस्कार वितरण गर्नुभयो ।
सामुदायिक रेडियो, रेडियो मुक्ति ९५ थोप्ला ५ को आयोजना, बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका वडा नं. १ र २ को सहकार्यमा एक दिने महिला सशक्तीकरणका लागि खेल नारासहित आयोजना गरिएको प्रतियोगितामा १२ वटा समूहले भाग लिएका रेडियोका व्यवस्थापक कल्पना तिवारीले जानकारी दिनुभयो ।
प्रतियोगिताको पहिलो सस्करणको जनउत्थान सहकारी तथा दोस्रो लुम्बिनी प्रादेशिक अस्पतालको नर्सिङ स्टाफको समुह विजेता रहेका थिए ।