बुटवल । दोस्रो कालिका जिल्लास्तरीय रनिङ शिल्ड प्रतियोगिता आजदेखि बुटवलमा सुरु भएको छ ।
कालिका मानवज्ञान माध्यामिक विद्यालयको ६२ औँ वार्षिकोत्सब तथा अभिभावक दिवसको अवसर पारेर आयोजना गरिएको रनिङशिल्ड प्रतियोगिताको राखेपका सदस्यसचिव टंकलाल घिसिङले उद्घाटन गर्नुभयो ।
उहाँले देशमै शैक्षिक गतिविधिमा अग्रसर रहेको कालिका खेलकुदमा पनि अब्बल रहेको बताउनुभयो । विद्यालयले शौक्षिक गतिविधि सँगै प्राथमिकता दिनुपर्ने उहाँको भनाइ छ ।
आफु पदभार ग्रहण गरेको एक वर्षको अवधिमा नवौँ राष्ट्रिय खेलकुदसहित धेरै गतिविधि गर्न सफल भएको दाबी उहाँको थियो ।
प्रदेश खेलकुद विकास परिषद लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराईले खेल क्षेत्रको विकासका लागि तीनै तहका सरकार प्रतिबद्ध हुनुपर्ने बताउनुभयो ।
कार्यक्रमको उद्घाटनमा विद्यालयका किर्तिमानी खेलाडी सलिम देवानले टर्च लाईट प्रदर्शन गर्नुका साथै खेलाडीहरुको मार्चपास, विद्यार्थीहरुको पिटी प्रदर्शन गरिएको थियो ।
वार्षिकोत्सवको अवसरमा पोखरामा सम्पन्न नवौ राष्ट्रिय प्रतियोगिता २०७९ र १२ औँ राष्ट्रपति रनिङशिल्डमा विभिन्न विधामा पदक जित्ने खेलाडीहरुलाई दोसल्ला, सम्मानपत्रबाट सम्मान गरिएको छ ।
कार्यक्रममा एथलेटिक्समा लङजम्प विधामा राष्ट्रिय किर्तिमानसहित पदक विजेता सलिम देवान, कबड्डी प्रतियोगितामा पदक बिजेता सतिस चौधरी, धर्मराज धवल, कृष्ण तरामु, आईटिएफ तेक्वान्दोमा पदक जितेका सबिना श्रेष्ठ तथा १२ औ राष्ट्रपति रनिङशिल्डमा कबड्डीमा स्वर्ण पदक जितेका राहुल अर्याललाई सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक दिनेश थापाले जानकारी दिनुभयो ।
सप्ताहव्यापी खेलकूद अन्तर्गत अन्तर विद्यालय छात्र÷छात्रा भलिबल, कबड्डी, एथलेटिक्स, लङजम्प, ट्रिपल जम्प, सटपुट प्रतियोगिता हुनुका साथै विभिन्न दूरीका दौड प्रतियोगिता हुने खेल संयोजक हरिश ओलीले जानकारी दिनुभयो ।
प्रतियोगितामा २४ स्वर्ण, २४ रजत र २४ कास्य पदक गरी ७२ पदकमा खेलाडीहरुको प्रतिस्पर्धा हुने छ ।
पुष ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा रुपन्देहीका ४५ वटा विद्यालयका दुई हजार ४ सय बढी विद्यार्थी सहभागी हुनेछन् । प्रतियोगितामा प्रथम, द्घितिय र तृतीय हुने समूहलाई नगद रु ५० हजार, ३० हजार र २० हजार, शिल्ड, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।