काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनल खेलहरू आज मङ्गलवारबाट सुरु हुँदैछ ।
कतार विश्वकपको पहिलो सेमिफाइनलमा आज राति अर्जेन्टिना र क्रोएसियाबिच प्रतिस्पर्धा हुनेछ । अर्जेन्टिना र क्रोएसियाबिचको खेल राति १२ः४५ बजे सुरु हुनेछ ।
दोहाको लुसेल रङ्गशालामा हुने पहिलो सेमिफाइनलमा मैदान उत्रँदा अर्जेन्टिना र क्रोएसिया फाइनल पुग्ने योजनामा हुनेछन् । अर्जेन्टिना लियोनल मेस्सीको कप्तानीमा हुने भने क्रोएसियाको कप्तानी लुका मोड्रिचले गर्नेछन् ।
अर्जेन्टिना क्रोएसियालाई हराएर छैटौँ पटक विश्वकपको फाइनल पुग्ने योजनामा रहेको छ । अर्जेन्टिनाले दुई पटक विश्वकप जितिसकेको छ ।
साविक उपविजेता क्रोएसिया दोस्रो पटक विश्वकपको फाइनल पुग्न चाहन्छ । क्रोएसियाले विश्वकप उपाधि जित्न सकेको छैन ।