बुटवल । कालिका रनिङ शिल्ड प्रतियोगिताको दोस्रो संस्करण पुष १ गतेदेखि बुटवलमा सुरु हुने भएको छ ।
कालिका मानवज्ञान माध्यमिक विद्यालयकोे ६२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा आयोजना गरिएको प्रतियोगितामा २४ स्वर्ण, २४ रजत र २४ कास्य पदक गरी ७२ पदकमा खेलाडीहरुको प्रतिस्पर्धा हुने छ ।
पुष ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा रुपन्देहीका ४५ वटा विद्यालयका दुई हजार ४ सय बढी विद्यार्थी सहभागी हुने आज विद्यालयमा पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।
प्रतियोगितामा प्रथम, द्घितिय र तृतीय हुने समूहलाई नगद रु ५० हजार, ३० हजार र २० हजार, शिल्ड, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।
पत्रकार सम्मेलनमा लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले खेलकूदको विकासका लागि तीनै तहका सरकारबीच समन्वय हुनुपर्ने बताउनुभयो ।
खेलकूदका क्षेत्रमा लुम्बिनी प्रदेशमा अझै पनि नीतिगत र संरचनागत अभाव रहेको गुनासो गर्दै उहाँले खेलकूदलाई हेर्ने दृष्टिकोण फराकिलो बनाउनुपर्ने धारणा राख्नुभयो ।
विद्यालयका प्रधानाध्यापक दिनेश थापाले प्रतियोगिताको सबै तयारी पूरा भएको बताउनुभयो । वि.सं. २०४६ सालमा नगरस्तरीय रनिङशिल्ड खेलाइएको ईतिहास स्मरण गर्दै उहाँले २०७८ पछि भने जिल्लास्तरीय रुपमा खेलाउन थालिएको बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष होमबहादुर गलामीले विद्यालयले शैक्षिकसँगै खेलकूदका गतिविधिलाई अघि बढाएपनि खेल मैदानको अभावले समस्या रहेको गुनासो गर्नुभयो ।
सप्ताहव्यापी खेलकूद अन्तर्गत अन्तर विद्यालय छात्र÷छात्रा भलिबल, कबड्डी, एथलेटिक्स, लङजम्प, ट्रिपल जम्प, सटपुट प्रतियोगिता हुनुका साथै विभिन्न दूरीका दौड प्रतियोगिता हुने खेल संयोजक हरिश ओलीले जानकारी दिनुभयो ।