भारतमा अभिलेख राखिएको मध्ये सबैभन्दा लामो यात्रा गरेको बाघ एउटा संरक्षित क्षेत्रमा अहिले एक्लै बसिरहेको छ।
वन्यजन्तु अधिकारीहरूले ‘वाकर’ नाम दिएको साढे तीन वर्षको भाले बाघले भारतको महाराष्ट्रको आरक्ष अघिल्लो वर्षको जुनमा छाडेको थियो ।
उसले शिकार, बासस्थान वा पोथीको खोजीमा आरक्ष छोडेपछि उपकरणजडित उक्त बाघले करिब ३,००० किलोमिटर यात्रा गर्ने क्रममा महाराष्ट्र र तेलङ्गना राज्यका सातवटा जिल्ला प्रवेश गरेको थियो ।
मार्च महिनामा महाराष्ट्रकै अर्को संरक्षण क्षेत्रमा बसेको बाघबाट अधिकारीले निगरानी गर्न प्रयोग गरिने उपकरण गएको एप्रिलमा हटाएका थिए ।
ज्ञानगंगा संरक्षण क्षेत्रमा चितुवा, मृग र निलगाइजस्ता जनावरको बसोबास छ। त्यहाँ वाकर एकमात्रै बाघ रहेको वन्यजन्तु अधिकारीहरू बताउँछन्।
“उसलाई भूगोलको चिन्ता छैन। र उसँग पर्याप्त आहारा छ,” महाराष्ट्रका वरिष्ठ वन अधिकारी नितिन काकोडकर भन्छन् ।
अहिले वन्यजन्तु अधिकारीले वाकरलाई साथी हुने गरी एउटा पोथी बाघ स्थानान्तरण गरेर ल्याउने विचार गरिरहेका छन्। त्यस्तो कदम अभूतपूर्व हुनसक्ने टिप्पणी गरिएको छ।
बाघ एक्लै बस्ने जनावर हैन र उनीहरूले प्राकृतिक रूपमा नै साथी खोज्ने गरेको बताइन्छ। तर अर्को बाघलाई त्यहाँ ल्याउने निर्णय भने सहज छैन।
काकोडकर भन्छन्, “यो ठूलो संरक्षण क्षेत्र होइन। खेत र नष्ट भइसकेको जङ्गल क्षेत्रबाट घेरिएको छ र यदि वाकरले यहाँ सन्तान जन्मायो भने आहाराका लागि दबाव बढ्छ र नयाँ जन्मिएका बाघहरू अरू ठाउँमा सर्ने प्रयास गर्छन्।”
विश्वमा बाँकी रहेका लगभग ३,००० बाघमध्ये मध्ये ७० प्रतिशत बाघ भारतमा पाइन्छ। बाघको सङ्ख्या बढेपनि उनीहरूको प्राकृतिक वासस्थान र आहारा सिमित हुँदै गएको विज्ञहरूले बताउने गरेका छन्।
विज्ञहरूले प्रत्येक बाघका लागि खानेकुरा आपूर्ति गरिरहन उसको बसोबास रहेको भूगोलमा सन्तान जन्माइरहने शिकार प्रजातिका ५०० जनावर रहनुपर्ने बताउँछन्।
घिल्लो वर्षको फेब्रुअरी महिनामा उपकरण जडान गरिएपछि वाकरले बर्खा याम सुरु नहुँदासम्म उपयुक्त वासको खोजीमा घुम्दै हिँडेको थियो।
वन्यजन्तु अधिकारीहरूले जीपीसी प्रणालीबाट प्रत्येक घण्टा उक्त बाघको निगरानी गरिएको र त्यसक्रममा उ ५,००० भन्दा बढी ठाउँमा पुगेको पाइएको जनाएको छ।
जाडो र गर्मी यामको अधिकांश समयमा उक्त बाघले खेत, खोला र नदी अनि मुख्य राजमार्गमा ओहोरदोहोर गरिरहेको पाइएको थियो।
महाराष्ट्रमा जाडोमा कपास रोप्ने गरिन्छ र अग्लो कपासले उक्त बाघलाई खेतमा लुक्न र हिँड्न मद्दत गरेको थियो।
अधिकांश अवस्थामा रातको समयमा हिँडेको उक्त बाघले बँदेल र घरपालुवा जनावरलाई शिकार बनाएको थियो।
एकपटक ‘दुर्घटनावश’ उसको पैतला पछ्याउँदै सम्पर्कमा आएका एक जना व्यक्तिलाई उक्त बाघको आक्रमणमा परे पनि समान्य चोटपटक लिएर भागेका थिए।
भारतको वाइल्डलाइफ इन्स्टिच्यूट अफ इण्डियाका वरिष्ठ वन्यजन्तु विज्ञ डा. बिलाल हबिबले उक्त जनवारको लामो यात्राले विकास र बढ्दो मानव जनसङ्ख्या माझ अझै पनि ग्रामीण महाराष्ट्रमा बाघहरूका खुला रूपमा हिँडडुल गर्ने वातावरण रहेको देखाएको बताएका छन्। बीबीसी नेपाली सेवा