काठमाडौँ । सिरहाको गोलबजार नगरपालिका–१० का रञ्जितकुमार पालले संयुक्त अरब इमिरेट्स (यूएई)मा २३ मिलियन दिरामको चिट्ठा जित्नुभएको छ । कतारमा कार्यरत पालले झन्डै ८२ करोड २७ लाख रुपियाँभन्दा बढीको चिट्ठा जित्नुभएको हो । उहाँले ‘बिग टिकट’ नामक अनलाइनमा चिट्ठा काट्नुभएको थियो ।
उहाँले भन्नुभयो, “चिट्ठाको विजेता घोषणा गर्दा म अफिसमै लाइभ हेर्दै थिएँ । ग्राहक आएपछि काममा लागेँ । काम सकिएपछि फेरि भिडियो हेर्दा थाहा भयो, २३ मिलियन दिरामको पुरस्कार मैले जितेछु।”
मध्यमवर्गीय परिवारका पालले यो पुरस्कार जित्दा खुसी भएको बताउँदै अहिले गर्दै आएको कामलाई निरन्तरता दिने प्रस्ट्याउनुभयो। उहाँले भन्नुभयो, “म कतार आएको सात वर्ष भयो। पहिले हिमाल रेमिटको प्रतिनिधिको जिम्मेवारीमा थिएँ। केही समययता म इस्टर्न मनी एक्सचेन्ज सनैयामा कार्यरत छु। काम छोड्ने कुनै योजना छैन।”